चितवन मेडिकल कलेजमा कोरोनाबाट थप एक महिलाको मृत्यु

चितवन, भदौं १३ । चितवन मेडिकल कलेजमा थप एक जना महिलाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । कोभिड आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला मिर्गौला रोगबाट समस्यामा थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याईएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको थियो । सोही क्रममा कोरोना परीक्षण गर्दा ती महिला संक्रमण पुष्टि भएको थियो ।

यसअघि पनि हिजो विहान मकवानपुरको हेटौंडा–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । हिजो चितवनमा एकैदिन तीन जनाको मृत्यु भएको थियो । जसमध्ये चितवन, मकवानपुर र गोरखाका एक÷एक जना हुन् ।