नेपालमा कोरोनाबाट २४ घण्टामा १२ जनाको मृत्यु, मृतक संख्या १ सय ९५ पुग्यो

काठमाडौं, १२ भदौ । कोरोना संक्रमण भएर नेपालमा हालसम्म कुल १९५ जनाको मृत्यु भएको छ ।

यो कुल संक्रमितको ० दशमलव ५३ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । बितेको २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार मृतकमध्ये ४ जना महिला र ८ जना पुरुष छन् ।

उनका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १–१ जना रहेका छन् ।

योसँगै शुक्रबार अपराह्नसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ ।