मेडिकल सिटी भरतपुरमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु

चितवन ।  मेडिकल सिटी भरतपुरमा एकैदिन कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष, हेटौडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला र आबुखैरहनी १३ गोरखाका ३८ बर्षिय पुरुष छन् ।
क्षेत्रपुरका ५१ वर्षीय पुरुषलाई यही भदौ ५ गते श्वासप्रश्वासमा समस्या भई पुष्पाञ्जलि अस्पतालमा भर्ना भएका थिए । उनलाई भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको कोभिड –१९ स्रोत व्यक्ति फिजिसियन चिकित्सक सन्दीप पाण्डेका अनुसार उनको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । उनको दुवै फोक्सोमा निमोनिया देखिएर भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
सोही अस्पतालमा उपचाररत अर्का एक सङ्क्रमितको अवस्था सामान्य छ । यस्तै कलेजमा उपचाररत वृद्धाको कोरानाले मृत्यु भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।
कलेजमा अहिले ४२ सङ्क्रमितको उपचार भइरहेको र तीमध्ये २० को अवस्था जटिल रहेको उहाँले जानकारी दिनुभयो । कलेजमा रहेको प्रयोगशालामा हालसम्म ७२७ नमूना परीक्षण गरिएकामा १०९ जनामा सङ्क्रमण देखिएको जनाइएको छ ।
यस्तै भदौं ६ गते भरतपुर अस्पतालको भर्ना भई १० गते कोरोना पुष्टि भएका आबुखैरहनी १३ गोरखाका ३८ बर्षिय पुरुषको आइसियूमा उपचारका क्रममा आज २ः३० बजे मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
यससंँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । जिल्ला भित्रका कोरोनाका कारण चारको मृत्यु भएको छ भने अन्य एक कैलाली, एक गोरखा र तीन मकवानपुरका छन् ।