कुलमानलाई सरकारले नियुक्ति दिएको छैन: सरकारका प्रवक्ता खतिवडा

काठमाडौँ, ११ भदौ । सरकारका प्रवक्ता, अर्थ एवम् सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले सरकारले हालसम्म कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्ति नदिएको बताए ।

उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यस सम्बन्धी छलफल पनि केही भएको होइन ।’