नेकपाको विवाद नयाँ मोडमा, कार्यदलको प्रतिवेदनप्रति माधव नेपाल असन्तुष्ट

काठमाडौं । पार्टी भित्रको विवाद समाधानका लागि भन्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनलाई लिएर नेकपाभित्र असन्तुष्टि सुरु भएको छ। विशेष गरेर वरिष्ठ नेता माधव नेपाल पक्षधरले कार्यदलको प्रतिवेदनलाई लिएर असन्तुष्टि जनाएको हो।

विवाद समाधानका लागि कार्यदलले ठोस कार्ययोजना ल्याउन नसकेको र पार्टीभित्रको शक्ति सन्तुलनलाई मिलाउन नसकेको नेपाल पक्षधर नेताहरुले टिप्पणी गरेका छन्।

वरिष्ठ नेता नेपाल निकट मानिने केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्रको शक्ति सन्तुलनलाई बेवास्ता गर्दै दुई जना अध्यक्ष मिलेर नेकपाभित्रको विवाद समाधान नहुने बताए। ‘नेकपाभित्र अहिले तीनवटा समूह छन्। त्यसको व्यवस्थापन नभएसम्म पार्टीभित्रको विवाद समाधान स्थायी रुपले हुँदैन,’ रिजालले डिसी नेपालसँग भने, ‘दुई अध्यक्ष मिलेर मात्रै पार्टीभित्रको विवाद समाधान हुन्छ भन्ने असफल मोडल हो।’

कार्यदलले बुझाएको प्रतिवेदनमा केही नयाँ विषय नभएको उल्लेख गर्दै नेकपा विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने त मंसिर चार गते कै सम्झौता भएको उल्लेख गर्दै कार्यदलले दीर्घकालीन रुपमा विवाद समाधानको खाका ल्याउन नसकेको रिजालले बताए।

‘पहिलो कुरा त कार्यदल जसरी गठन गरियो, त्यो प्रक्रिया संगत छैन,’ रिजालले भने, ‘नेकपाको विधानमा कुनै पनि व्यक्तिलाई कार्यदल, अयाोग, वा संयन्त्र गठन गर्ने अधिकार छैन, यस्ता कार्यदल पार्टीका कमिटीबाट गठन गरिनुपर्छ। पहिलो गल्ती त्यँही भयो।’

उनले जुन कारणले पार्टीभित्र समस्या देखिएको हो त्यो विषयमा कार्यदल प्रवेश नै गर्न नसकेको बताए। पार्टीमा विधि र प्रक्रिया र एक व्यक्ति एक पदको माग उठेको तर त्यो विषयमा कार्यदल प्रवेश नै नगरेको उनको भनाइ छ।

स्रोतका अनुसार वरिष्ठ नेता नेपालले आफूलाई प्रचण्डले धोका दिएको गुनासो गर्न थालेका छन्। प्रचण्डले आफ्नो स्वार्थ पूरा नहुने अवस्थामा आफ्नो साथ खोज्ने गरेको तर स्वार्थ पूरा हुने अवस्थामा प्रधानमन्त्री ओलीसँग मिलेर आफूलाई धोका दिएको आफू निकट नेताहरुसँग गुनासो गरेका छन्।

कार्यदलमा रहेका चार नेता महासचिव पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसालले ल्याएको कुरामा सहमति जनाएर आफूले विश्वास गरेकाबाट पनि धोका भएको उनको बुझाइ छ। आफू निकट भनिएका नेता भीम रावल र सुरेन्द्र पाण्डेले पनि आफ्नो स्वार्थ मात्रै हेरेर आफूहरुलाई धोका दिएको निश्कर्षमा नेता नेपाल पुगेको बताइएको छ।

स्रोतका अनुसार कार्यदलको प्रतिवेदन पढेपछि नेता नेपालले प्रतिवेदनले पदको बाड्फाँडको हिस्सा केन्द्रित भएको कार्यकर्तामा सन्देश गएको गुनासो गरेका छन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा केपी शर्मा ओलीबिरुद्ध संयुक्त मोर्चा बनाएर जाने पूर्वसहमति तोडेर ओलीलाई नै झन बलियो बनाउने गरी कार्यदलमार्फत प्रतिवेदन लेखाएको भन्ने वरिष्ठ नेता नेपालको गुनासो भएको बुझिएको छ।

प्रतिवेदनमा सरकारको नेतृत्व ओलीले नै गर्ने र पार्टी सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्ने गरी सुझाव दिएको छ। कार्यदलले प्रतिवेदनमाथि अध्यक्षद्वयबीच मंगलबार छलफल भएको थियो। उक्त प्रतिवेदन शनिबार बस्ने सचिवालय बैठकमा पेश हुने बताइएको छ।