भदौ १६ देखि हुने एक महिनाको अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही भदौ १६ देखि हुने एक महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ ।

उडान तालिका अनुसार एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर उडान हुने भएका छन् ।

नियमित उडानतर्फ १० वटा अन्तराष्ट्रिय वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।

त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको मन्त्रालयले जनाएको छ ।

हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ ।

यो एक महिनाको अवधिमा १० विदेशी र दुई नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्नेछन् ।

सरकारले सहजै रुपमा कोरोना परिक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुुसार दैनिक ५०० यात्रु नबढ्नेगरी अन्तर्राष्ट्रिय उडान हुनेछ ।
रासस