काठमाडौँ । उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लागु भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले आज मध्य राती १२ः०० बजेदेखि भदौ १७ गते राती १२ः०० बजेसम्मका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको जानकारी काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दिनुभयो ।

काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दिनहुँ बढ्दै गएपछि भदौ ३ गतेदेखि आज राती १२ः०० बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको थियो ।

यो एक हप्ता लागु गरिएको निषेधाज्ञा प्रभावकारी भएको र संक्रमण बढ्न नदिनकाठमाडौं उपत्यकाका नगर प्रमुखहरूले निषेधाज्ञा बढाउन सरकारलाई सुझाव दिएकोले उहाँहरूको सुझावका आधारमा निषेधाज्ञाको समय थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

निषेधाज्ञाका बेला औषधि, दूध, खाद्यवस्तु लगायतका अत्यावश्यक बस्तुहरूको पसल बिहान सवा ९ः०० बजेसम्म खोल्न पाइने व्यवस्था समेत मिलाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार, उपत्यकामा आइसोलेसनको थप व्यवस्था गरिन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस !