कोरोना भाइरस: चितवनमा थप ४४ जनामा संक्रमण पुष्टि

चितवन, भदौं १० । चितवनमा थप ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको  भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

४० जना चितवनका र बाँकी ४ जना नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका छन् । अन्य जिल्ला ठेगाना भएकाहरुको स्वाब पनि भरतपुरकै अस्पतालहरुबाट संकलन गरिएको हो । प्रयोगशालामा मंगलबार राती गरिएको परीक्षणका क्रममा ५ बालक र ८ वर्षीया बालिकासहित ४४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ७१ वर्षीया वृद्धा पनि छन् । नयाँ संक्रमितहरुमध्ये ३६ जना भरतपुर महानगरपालिकाका छन् । उनीहरुको स्वाबको नमूना भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट लिइएको थियो ।
रत्ननगर नगरपालिकाका ३ जना र खैरहनी–१ का एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको स्वाब संकलन पुरानो मेडिकल कलेज, रत्ननगरस्थित क्वारेन्टिन र भरतपुर अस्पतालबाट संकलन गरिएको थियो ।