चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, १३ जनामा पनि कोरोना पुष्टि

चितवन । चितवनमा आज थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१०, स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको आज साँझ ७ः२६ बजे मृत्यु भएको हो ।

यस्तै चितवनमा थप १० जना सहित १३ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा आज गरिएको परीक्षणका क्रममा भरतपुरका ७ जना र राप्ती नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मकवानपुरका २ जना र नवलपुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  उनिहरुको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र,पुरानो मेडिकल कलेज र राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।