कोरोना संक्रमणबाट नवलपरासी कांग्रेस उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु

बुटवल, २ भदाै । नेपाली कांग्रेस नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

पाटन अस्पताल ललितपुरमा उपचार गराइरहेका ३८ वर्षीय गिरीको मंगलबार बिहान ६ बजे मृत्यु भएको कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद देवेन्द्रराज कँडेलले जानकारी दिए ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते गिरीलाई पाटन अस्पताल ल्याइएको थियो ।

गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । उनलाई मंगलबार राति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको थियो ।

नवलपरासी कांग्रेसका उपसभापति गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो ।