चितवनमा छोटो दुरीका सवारी सञ्चालनमा पनि रोक

चितवन । चितवन प्रशासनले छोटो दूरीका यात्रुबाहक सवारीसाधन पनि सञ्चालन नगर्न निर्देशन दिएको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले भदौ १५ गतेसम्म छोटा, मध्य र लामा दूरीका यात्रुबाहक सवारीसाधन नचलाउन निर्देशन दिएको हो ।

यसअघि चितवनमा छोटो दूरीका सवारीसाधन सञ्चालन हुँदै आएका थिए । दुई दिनअघि प्रशासनले राति ९ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गर्न सूचना जारी गरेको थियो । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि थप कडाई गरिएको हो ।

प्रशासनले सिनेमा हल, पार्टीप्यालेस, व्यूटीपार्लर, शैलुन, डान्सबार, जिमखाना, स्वीमिङपुल सञ्चालन नगर्न तथा फुटपाथ तथा खुल्ला ठाउँमा ठेला, अटो रिक्सा र साइकलमा व्यापार, व्यवसाय नगर्न निर्देशन दिएको छ ।

कवाडी संकलन बन्द गर्न पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए । साथै, खाना, खाद्य परिकार तथा पेय पदार्थको खानपान होटल तथा रेष्टुरेन्टमा नगराई टेक अवे सेवा मात्र दिन भनिएको शाहीले बताए ।

शैक्षिक संस्थाहरुले वैकल्पिक सिकाइ बाहेक कक्षा सञ्चालन तथा परीक्षा लिन नपाइने, अत्यावश्यक बाहेकका जमघट गर्न नपाइने, धार्मिक स्थलहरुमा पूजा बाहेकका गतिविधि सञ्चालन गर्न नपाउने शाहीको भनाइ छ । त्यस्तै, चाडपर्व मनाउँदा परिवारका सदस्यहरु मात्रै घरमा रहेर मापदण्डअनुसार मनाउन प्रशासनले अग्रह गरेको छ ।