कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु

नवलपरासी । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको छ । शनिबार बिहान रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागडस्थित हुलाकी सडक खण्डमा  लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेहरुलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएको र उपचारको क्रममा ३ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेहरुमध्ये १ जनाको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु भएका रुपन्देही ओमसतिया गाउँपालिका वडानम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीको पहिचान खुलेको हो । अन्य २ जनाको परिचय खुल्न बाँकि छ भने घाइते रुपन्देहीको सिद्धार्थ नगरपालिका वडानम्बर ४ का ३० वर्षीय अनिल यादव रहेको खुलेको छ ।