मुग्लिनका साझा पत्रकार रोहिणी त्रिपाठी

चितवन । राजधानी भित्रिने र बाहिरिने सवारीका यात्रुले खाना खाने ठाउँले चिनिएको मुग्लिन बजारमा दुई दशकभन्दा बढी समयदेखि साझा पत्रकारका रुपमा चिनिनुहुन्छ रोहिणी त्रिपाठी । उहाँले चितवनलगायत छिमेकी जिल्ला र राजधानीका पत्रकारलाई मुग्लिन र आसपासका सूचना बाढ्दै आउनुभएको छ । यो वा त्यो नभनी उहाँले सबै पत्रकारलाई समाचार उपलब्ध गराउनुहुन्छ ।

विसं २०५३ मा चितवनको पारदर्शी साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएका त्रिपाठीले चितवन पोष्ट, नारायणी साप्ताहिक, जनअर्पणजस्ता पत्रपत्रिकामा समाचार पठाउने गर्नुहुन्थ्यो । उहाँले काठमाडौँबाट प्रकाशित हुने गोरखापत्र, दृष्टि, छलफल, नेपाल समाचारपत्रजस्ता धेरै पत्रिकामा समाचार पठाएर सहयोग गर्नुभयो । उहाँले भरतपुरको सिनर्जी एफएममा निरन्तररुपमा आठ वर्षसम्म समाचार पठाउनुभयो । त्यसो त चितवन, गोरखा, कास्की, तनहुँ लगायतका जिल्लाका विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारका समाचारका स्रोतका रुपमा त्रिपाठी रहनुभयो ।

राष्ट्रिय समाचार समिति चितवनका पूर्वप्रमुख गणशेखर शर्मा त्यस क्षेत्रको गतिविधि त्रिपाठीले अरु पत्रकारलाई दिने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उहाँले हामीलाई समाचार दिने गर्दथे ।” नारायणगढ मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा हुने दुर्घटनाका सूचना त्रिपाठीले धेरैलाई टिपाउने गर्नुहुन्थ्यो । त्यसो त अहिले पनि कतिपयले उहाँलाई नै सोध्ने गर्छन् ।

विगतलाई सम्झँदा गहभरी आँशु पार्दै उहाँले भन्नुभयो, “सूचना दिएकै कारणले मुग्लिन प्रहरीको पटक पटक कुटाई मैले खानु प¥यो ।” मुग्लिन बजारमा उहाँको पुस्तक पसल छ । त्यही पसलमा विसं २०५९ मा फोन र फ्याक्स जडान भएपछि उहाँलाई सूचना दिन अझ सहज भयो । त्यसअघिको व्यथा सुनाउँदै उहाँले भन्नुभयो, “समाचार लेखेर पु¥याउन म आफैँ नारायणगढ पुग्थे ।”

ती दिन सम्झँदै उहाँले भन्नुभयो, “समाचार दिए बापत पारिश्रमिक त परैको कुरा फोन आएको खबर गर्नेलाई उल्टै एक पटकको रु १० तिर्ने गर्थे ।” अनौठो त के छ भने त्रिपाठीले झण्डै २४ वर्षको यो अवधिमा समाचारको पारिश्रमिक अहिलेसम्म नबुझेको बताउनुभयो । त्यसो त चितवनको पारदर्शी दैनिकमा उहाँ शेयर धनीसमेत हुनुभयो । त्यसमा गरेको लगानी पनि कहिल्यै फिर्ता आएन ।

उहाँले पारदर्शीमा काम शुरु गरेका बेलाका साथी पत्रकार तिलक रिमालले त्रिपाठी साझा र स्वयंसेवी पत्रकार भएको बताउनुहुन्छ । रिमालले भन्नुभयो, “उहाँले दुःखका साथ समाचार दिनुहुन्थ्यो, पारिश्रमिक त परैको कुरा मुग्लिन पुग्ने प्रत्येक पत्रकारलाई चिया, खाजा, खाना केही न केही खुवाएर पठाउनुहुन्थ्यो, कतिपयलाई बेखर्ची हुँदा भाडा तिरेर पठाउनुहुन्थ्यो ।” त्रिपाठीको त्यो स्वभाव अहिले पनि छ । मुग्लिन पुगेर उहाँलाई भेट्ने सबै पत्रकारलाई केही नखुवाई उहाँले पठाउनुहुन्न । त्यो बेलाको स्मरण गर्दै रिमालले भन्नुभयो, “मुग्लिनबाट समाचार बोकेर नारायणगढ आउँजाउँ गर्दा उहाँले पाउने होइन, उल्टो उहाँको खर्च हुन्थ्यो ।”

अधिकांश पुराना पत्रकारसँग बढी सङ्गत भएका त्रिपाठीको नवप्रवेशीसम्मका पत्रकार साथी छन् । उहाँले म पत्रकार हुँ भन्ने जोकोहीलाई पनि मुग्लिन आसपासको समाचार दिन भने कन्जुस्याइँ गर्नुहुन्न । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले त्रिपाठी पहाडी क्षेत्रका समाचारको स्रोत व्यक्तिका रुपमा स्थापित भएको बताउनुहुन्छ । राजधानी काठमाडौँ, पोखरा, तराईका जिल्ला आवातजावत गर्ने केन्द्रबिन्दुमा रहेका त्रिपाठीले समाचार मात्रै होइन, पत्रकारलाई दुःख पर्दा साथ दिने खतिवडा बताउनुहुन्छ ।

हक्की स्वभावका त्रिपाठी अरुको दमन सहन नसकेपछि सूचना दिँदै जाँदा पत्रकार बन्नुभएको हो । पत्रकारिता शुरु गरेयता उहाँ नेपाल पत्रकार महासङ्घको केन्द्रीय प्रतिनिधि लगायत विभिन्न पदमा निरन्तर रहनुभएको छ । जीवनभर पत्रकारका रुपमा चिनिए पनि उहाँको परिवार पाल्ने पेशा भने पुस्तक पसल नै बन्यो । पछिल्ला वर्षहरुमा पुस्तक पसलसँगै पान पसल पनि उहाँले सञ्चालन गर्नुभएको छ । जसको नेतृत्व श्रीमती शान्त त्रिपाठीले गर्दै आउनुभएको छ । दुई छोरामध्ये एउटाले स्नातक गरिसक्नुभएको छ भने अर्काे छोराले स्नातक पढ्दै हुनुहुन्छ । आफ्नो उर्बर समय पत्रकारितालाई दिएर तपाईले के पाउनुभयो ? भन्ने जिज्ञासामा उहाँले गहँभरि आँशु पार्दै भन्नुभयो, “खुशी कमाएँ ।” नारायण अधिकारी रासस