प्रचण्डको घोषणा: अव आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु, छिटो महाधिवशेन गरौं

काठमाडौं, साउन ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफूले आलोपालो प्रधानमन्त्रीको कुरा छाडेको घोषणा गर्दै छिटो महाधिवेशन गरेर समस्याको निकास दिनुपर्ने निश्कर्ष सुनाउनु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको लामो संवादपछि पार्टीको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । ओलीको सो प्रस्तावमा समर्थन गर्दै प्रचण्डले महाधिवेशन नै समस्याको निकास भन्ने निश्कर्ष सुनाउनु भएको सचिवालयका एक नेताले जनताटाइम्सलाई बताए । ‘अव धेरै भयो, हामी अल्झेर, विवाद गरेर वस्नु ठिक हुन्न। म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु। प्रधानमन्त्रीले छिटो महाधिवशेन गरौं भन्नुभयो। छिटो महाधिवशेन गरेरै जाऔं,’ अध्यक्ष प्रचण्डको भनाई उधृत गर्दै नी नेताले भने ।

यस्तो छ अध्यक्ष प्रचण्डको भनाई जस्ताको तस्तै

पार्टीभित्र निकै समस्या देखिए। यसले कता–कता पार्टी एकता नै भत्किने हो कि पार्टी एकताको रक्षा पनि नहुने हो कि भन्ने खालका समस्याहरु पनि देखिए। हाम्रोसामू यो एकता प्रक्रियालाई जोगाउनु पर्ने कार्यभार छ। पार्टीलाई ट्य्राकमा पनि लैजानु छ। आजको छलफलमा प्रधानमन्त्रीले अब महाधिवशेन छिटो गरेर जाऔं भननुभयो, ठिक छ, अव महाधिवशेनवाटै जाऔं, समस्याको हल त्यँहीबाट हुन्छ । यसवीचमा मैले मंसिर ४ को सहमति कार्यान्वयनमा नआएपछि पार्टी एकताका वेलाको जेठ २ को सहमतिको कुरा गरेको थिएँ। आलोपालो प्रधानमन्त्रीकै विषय उठाएको थिएँ। जुन सम्झौताले समस्या ल्यायो, त्यही शुरुको सहमति कार्यान्वयन गरौं भन्ने मेरो कुरा थियो। तर अव धेरै भयो, हामी अल्झेर, विवाद गरेर वस्नु ठिक हुन्न। म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु। प्रधानमन्त्रीले छिटो महाधिवशेन गरौं भन्नुभयो, छिटो महाधिवशेन गरेरै जाऔं।