प्रधानमन्त्री ओलीको समर्थनमा भरतपुरको चौबिसकोठीमा आज शुक्रबार अपरान्ह ४ बजे बृहत प्रदर्शन गरिने

चितवन । चितवनमा आज शुक्रबार केपी ओली सरकारको समर्थमा बृहत प्रदर्शन गरिने भएको छ । अपरान्ह ४ बजे भरतपुरको चौविसकोठीमा सरकार ढाल्न पाइदैन भन्दै प्रर्दशन गर्न लागिएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि ओलीका समर्थकले प्रदर्शन गर्न लागेका हुन् । आज विहिबार पनि काठमाडौं लगाएतका क्षेत्रमा प्रदर्शन गरिएको छ ।

गाँउ गाँउबाट प्रधानमन्त्री ओलीका समर्थक र नेकपाका कार्यकर्ताहरुलाई उपस्थित हुन आग्रह गरिएको विद्यार्थी नेता अस्मिन घिमिरेले बताए । वर्तमान सरकारले राम्रो काम गरिरहेको तर केही नेताको स्वार्थ पुरा गर्न र भारतीय चलखेलका आधारमा केपी ओलीको सरकारलाई दबाब दिने काम भएको भन्दै सरकारलाई सत्ता नछाड्न दबाब दिने उनले बताए ।

सो कार्यक्रममा ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा तय गरिने घिमिरेले जानकारी दिए ।