टिकट काट्न नसक्नेहरू खाडीमै अलपत्र

काठमाडौं, १२ असार । खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट जोहो गर्न सकेका छैनन्, उनीहरु मरुभूमिमै तड्पिइरहेका छन् । तीमध्येका हुन्, कुवेतको सवाअसालिमस्थित ब्लक नम्बर ३ मा बसेका झापा सुरुङ्गाका उमेश सोती । उनी स्वदेश फर्कने दिन कुरिरहेका छन् ।

उनीसहित ६ नेपाली र एक भारतीय एउटै कोठामा बस्छन् । बाहिरी तापक्रम ४५ डिग्री नाघेको र कोठामा एसी बिग्रिएकाले बस्नै नसक्ने अवस्था रहेको उनले बताए । ‘ज्यान त अन्डा उसिनेजस्तै गुम्सिएको छ, अरूको कोठामा जाने अवस्था छैन, कोठाबाहिर तातो बाफ आउँछ, हपहपी हुन्छ,’ उनले टेलिफोनमा कान्तिपुुरसँग भने, ‘कुवेतमा यस्तो गर्मी छ, हामीलाई सास फेर्नै गाह्रो भइसकेको छ ।’ एसी बनाइदिन दूतावासमार्फत भन्दासमेत कम्पनीले नमानेको उनले बताए ।

उनी काम गर्ने स्पा कम्पनीमा चैत १ देखि ड्युटी बन्द छ । तलब दिएको छैन । सरकारी राहतबाट उनले जसोतसो दैनिक छाक टारिरहेका छन् । यो कम्पनीले २६ ठाउँमा स्पा चलाउँथ्यो । ६ सय जना कामदार थिए । कोरोना महामारीलाई रोक्न कुवेत सरकारले कफ्र्यु लगाएपछि काम बन्द छ । केही खुकुलो भए पनि अब कम्पनी कहिलेसम्म बन्द हुन्छ र कहिले खुलेर काम गर्न पाइन्छ भन्ने यकिन छैन । खुलेपछि काममा फर्किने गरी नेपाल जान कम्पनीले उनीहरुलाई हातहातमा राहदानी थमाइसकेको छ ।

उनीहरु कुवेत पुगेको २० महिना भयो । अबको दुई महिनापछि करारपत्र समाप्त हुँदै छ । फर्किने बेला फिर्ती टिकट कम्पनीकै जिम्मेवारीमा पर्छ । ‘कम्पनीको जिम्मेवारी मात्रै भनेर हुन्न रहेछ, दिनु पनि पर्दो रहेछ । उल्टो कम्पनीले अनेक कागजमा सबै लिइसकेको भनेर हस्ताक्षर गर्न लगायो, नत्र घर जान नदिने भन्यो,’ उनले भने, ‘हामीभन्दा अगाडि ७० जना इन्डोनेसियाली र ३० जना भियतनामी त्यसरी नै गए । अब हामीले टिकट पाउने आशा मारिसकेका छौं । हामीले १२ मार्चसम्म काम गरेको तलब पनि पाएका छैनौं । दूतावासमा भन्दा अहिले अप्ठ्यारोमा छांै, केही भन्न मिल्दैन । जस्तो दिएको छ, त्यस्तै खाएर बस, हल्ला नगर भन्ने आदेश आउँछ ।’

कुवेतकै डल्फिन आयल एन्ड ग्यास सर्भिस कम्पनीबाट राहदानी नपाउँदा हेटौंडाका माधवप्रसाद पुडासैनी स्वदेश फिर्न पाएका छैनन् । उनले श्रीमतीको अप्रेसन गर्नुपर्ने अवस्था दर्साउँदै गत फागुन १७ गते कामबाट बिदा लिएका थिए । ‘मलाई मरुभूमिमा तेल खोज्ने चाइनिज कम्पनीमा खटाइएको थियो । दुई महिनाअगाडि नै पूर्वसूचना दिएर स्वदेश फिर्न खोजेको थिएँ । कम्पनीले ड्युटी सकेको ५ दिन बित्दा पनि पठाएन । दूतावास गएँ । दूतावासले फोन गरेपछि कम्पनी झन रिसायो । दूतावासबाटै ट्राभल डकुमेन्ट लिएर जाऊ भन्दै कम्पनीबाट धक्का मारिदियो । ५ महिनादेखि तलबविहीन भएर साथीहरुको शरणमा छु । स्वदेश जानेको सूचीमा छु । टिकट काट्ने पैसा र राहदानी छैन,’ उनले भने, ‘दूतावासले न त राहदानी निकालिदिन सक्यो । न मलाई पठाइदिन सक्यो ।’

कुवेतस्थित नेपाली दूतावासले दुईवटा चार्टर उडानबाट ३ सय ४ जनालाई स्वदेश पठाएको छ । कुवेत सरकारले आफ्नै खर्चमा १० उडानमार्फत आममाफी पाएकामध्ये १ हजार ८ सय ६९ जनालाई पठाइसकेको छ ।

खाडीमा अलपत्र परेका नेपाली कामदारले आफैं टिकट खरिद गर्न सक्ने र कम्पनीले टिकट उपलब्ध गराउनेलाई मात्रै प्राथमिकता दिएको भन्दै दु:ख व्यक्त गर्न थालेका छन् । ‘जोसँग पैसा छ, आर्थिक अवस्था राम्रो छ । जसले घरबाट पैसा मगाएर जान सक्छन् । उनीहरु नेपाल जान पाइरहेका छन् । रोजगारी गुमाएको तीन महिना भइसक्यो । कतैबाट टिकट जुटाउन सकिएको छैन । हाम्रो त नाम पनि निस्केको छैन,’ यूएईमा कार्यरत सविन क्षेत्रीले भने, ‘खल्तीमा भएको केही पैसा पनि सकियो । क्याम्पबाट विमानस्थलसम्म जाने भाडा त के, साँझ बिहान खाने खर्च पनि छैन ।’ यूएईमा मात्रै दूतावासले स्वदेश फिर्ने ४ हजार १ सय १० जनाको नामावली प्रकाशन गरिसकेको छ । यूएईबाट १२ उडान भइसकेको छ । हाेम कार्कीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।