नेपालमा कोरोना संक्रमितको १० हजार ९९, थप एकको मृत्यु पुष्टि

काठमाडौँ, ९ असार । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएका छन् ।

यससँगै कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

त्यसैगरी, प्रवक्ता गौतमले कोरोनाका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको हो ।

उनको सुर्खेतस्थित वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको आइसीयुमा उपचारका क्रममा मृत्यु भएको हो । क्षयरोगका बिरामी उनलाई असार ३ मा अस्पताल भर्ना गरिएको थियो भने ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।