नारायणी लिफ्ट सिँचाइ: पश्चिम चितवनका कृषकले आकाशे पानी कुर्नु नपर्ने

रत्ननगर ।  केही वर्षयता आकाशे पानीको भर पर्ने पश्चिम चितवनका कृषकले समयमै धान रोप्न पाउने भएका छन् । नारायणी लिफ्ट सिँचाइ आयोजनाले असारको तेस्रो साताबाट नहरमा पानी छोड्ने तयारी गरेको छ । नहर पश्चिम चितवनमा पानीको एक मात्रै स्रोत हो । लिफ्टको पानी नहरमा छोडेपछि मात्रै पश्चिम चितवनका पोखरी, इनार तथा धारामा पानी आउने गरेको स्थानीय बताउँछन् ।

धान रोपाइँको समय नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाको अधिकांश कृषिभूमि सिँचाइ गर्ने नारायणी लिफ्ट सञ्चालनको तयारी गरिएको छ । नारायणी लिफ्ट सञ्चालनका लागि लिफ्टिङ प्रणाली मर्मत तथा नहर सफा गर्ने काम तीव्ररुपमा अगाडि बढेको नारायणी लिफ्ट प्रशाखा नम्बर ८ का अध्यक्ष धर्म कार्कीले बताउनुभयो । लिफ्टको पानी नहरमा पठाउनका लागि नहरबाट फोहर झिक्ने तथा नहरको समेत मर्मतसम्भारको काम अगाडि बढिरहेको कार्कीको भनाइ छ ।

नारायणी लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पश्चिम चितवनमा खोला तथा मुहानको पानी आउने अवस्था नरहेको बताउनुभयो । पानीको स्रोत नभएकै कारण नारायणीबाट पानीलाई लिफ्ट गरेर सिँचाइको व्यवस्था शुरु भएको रानाभाटको भनाइ छ । “नारायणी लिफ्टबाट सिँचाइ नगर्दा खानेपानीका धारा, इनार, बोरिङसमेत सुक्खा अवस्थामा पुग्छन्”, रानाभाटले भन्नुभयो, “पानीको अर्को वैकल्पिक स्रोत नभएकाले नारायणीको पानी लिफ्ट गर्न अत्यन्तै आवश्यक छ ।”

नारायणी लिफ्टको मद्दतबाट पश्चिम चितवनका किसानले धान रोप्ने र आफ्नो जीविकापार्जन गर्ने काम गरिरहेको रानाभाटले बताउनुभयो । पानीको अर्को विकल्प नभएसम्म नारायणी लिफ्टलाई सञ्चालन गर्नुपर्ने बाध्यता रहेको समेत उहाँको भनाइ छ ।

नारायणी नदीबाट लिफ्टमार्फत तानिएको पानीले बी र सी नहरबाट महानगरका विभिन्न भागमा सिँचाइ हुँदै आएको छ । किसानको धानबाली सिँचाइका लागि पानी जाने बी नहर १३ किलोमिटर तथा सी नहर १९ किलोमिटरको छ । यी नहरका सहायक नहरबाट किसानले धान खेतीमा सिँचाइ गर्दै आइरहेका छन् ।

नारायणी लिफ्ट सिँचाइ आयोजनाबाट भरतपुर महानगरपालिकाको वडा नं ४ देखि ९ सम्म तथा वडा नं ११, १२, १४ र १५ गरी करिब चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख खेमबहादुर पाठकले बताउनुभयो । दुई वटा चार घनमिटरको पम्प तथा एउटा दुई घनमिटरको पम्पबाट पानी तानेर सिँचाइ गरिँदै आएको पाठकले बताउनुभयो । कार्यालयसँग १० घनमिटरका पम्प भए पनि एक पटकमा दुई वटामात्रै पम्प सञ्चालन हुने पाठकको भनाइ छ ।

धानबालीमा सिँचाइ गर्नका लागि हरेक वर्षको असारदेखि कात्तिक महिनासम्म कार्यालयले नहरमा पानी छोड्दै आएको छ । नहरबाट छोड्ने पानी पर्याप्त नभए पनि कृषकलाई राहत मिल्ने गरेको पाठकको भनाइ छ । पश्चिम चितवनमा प्रतिबिघा कम्तीमा २० क्विन्टल धान उत्पादन हुँदै आइरहेको छ ।

यस क्षेत्रमा मुख्य गरी मन्सुली, सावा मन्सुली, सावित्री, वार, राम धानलगायतका धानखेती हुने गरेको छ । नारायणी लिफ्टले शुरुआती समयमा चार हजार ७०० हेक्टर जमीन सिँचाइ गर्दै आएको भए पनि शहरीकरणसँगै नहर अतिक्रमण हँुदा सिँचाइ क्षमता घट्दै गएको छ । नहर अतिक्रमण हुने क्रम बढेसँगै भरतपुर हुँदै बग्ने नहरमा सडक निर्माण गरिएको छ ।रासस