नेपालमा कोरोना: हालसम्म १६ जनाको मृत्यु, संक्रमित ५ हजार नाघ्यो

काठमाडौँ, ३० जेठ । नेपालमा थप एक जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।

अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर फर्कँदा बाटैमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । उनको जेठ २९ गते रिपोर्ट आएको थियो ।

उनको वुधबार घर फर्किने क्रममा मृत्यु भएको थियो ।

भारतबाट आएका उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो ।

यससँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

नेपालमा एकै दिनमा थप ४ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यो अहिलेसम्मकै सर्वाधिक संख्यामा संक्रमण भेटिएको हो । यससँगै कोरोना संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मलेनमार्फत जानकारी दिएका छन् । उनका अनुसार ८ सय ७७ जना निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा यति धेरै संख्यामा संक्रमितहरु भेटिएका हुन् ।