चितवनको कालिका र भरतपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि

चितवन, जेठ २८। चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका– ६ का २० वर्षीय पुरुष र भरतपुर–५ वस्ने २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कालिका-६ का ती पुरुष भारतबाटआइ  सोही वडाको क्वारेन्टाइनमा बसेका थिए । उनको स्थाइ घर धादिङ रहेको र उनको परिवार मात्र कालिका ६ मा कोठा भाडामा बस्दै आएका थिए । ती संक्रमित भारतको सुनौली नाका हुँदै चितवन आइपुगेका थिए ।

उनीहरु दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमण पुष्टि भएकाहरु क्वारेन्टिनमा बस्दै आएका थिए ।

यसअघि सोमबार एकैदिन चितवनका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबैको अहिले कोरोना अस्पतालमा उपचार भइरहेको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको भने हिजो नै मृत्यु भइसकेको छ । पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । यस्तै आज नै भरतपुरमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीका गैंडाकोटका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

ती मध्ये गैंडाकोटा नगरपालिका–१३ का १३ वर्षीय पुरुष र वडा नं.१४ का २६ वर्षीय रहेका छन् ।