नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौँ, २४ जेठ । कोरोनाका कारण थप २ जनाको मृत्यु पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु भएको जनाएका छन् ।

डोल्पाका पुरुषको जेठ २१ गते राति १२ बजे मृत्यु भएको थियो । उनी जेठ १६ गते सुर्खेतबाट डोल्पा गएका थिए । उनी दमका रोगी थिए । उनको रिपोर्ट शनिबार पोजेटिभ आएको हो ।

त्यस्तै, मिर्गौलाको समस्या भएकी महिलाको धनगढीको सेती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै जनाको मृत्युपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । पछिल्लो मृत्युसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।