३ महिनादेखि बन्द शिक्षण संस्थामा पठनपाठन शुरू गर्न सरकारले थाल्यो छलफल

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण ३ महिनादेखि बन्द शिक्षण संस्थामा पठनपाठन संचालन गर्नेबारे सरकारले सम्बन्धित पक्षसँग छलफल शुरु गरेको छ ।

कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दीमा पठनपाठनलाई सहजीकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालासँग परामर्श गरेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको छलफलमा विज्ञहरुले लकडाउनमा अवरुद्ध भएको पठन पाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन् ।

जोखिमको स्तर हेरेर सम्भव हुने स्थानमा छिटो पठनपाठन सुचारु गराउने , संचालन गर्न नसकिने स्थानमा अनलाइन तथा टेलिभिजन क्लासको विकल्प खोज्न उनीहरुले सुझाव दिएका हुन् ।  उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले अवरुद्ध पठनपाठन संचालन, परीक्षा, भर्ना तथा भर्चुल क्लासका सम्बन्धमा नेपाली वैज्ञानिकले बनाएका नयाँ आविष्कारलाई प्रमाणीकरण गर्न तथा खोज अनुसन्धानबाट आएका तथ्यांकलाई सम्पत्ति मानेर अगाडि बढाउन सुझाव दिएको बताउनुभयो ।

प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले भर्चुल क्लास, विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाबाट उच्चस्तरीय समितिले सुझाव लिएको बताउनुभयो । उहाँले बन्दाबन्दीलाई व्यवस्थित गर्दै अनलाइन, टेलिभिजन, मोबाईलबाट पठनपाठन गर्नुको साथै मनोवैज्ञानिक प्रचारप्रसार गर्दै भौतिक उपस्थितिका साथ पठनपाठनको व्यवस्था मिलाउनुपर्ने सम्बन्धमा प्राप्त सुझावलाई मस्यौदाको रुपमा मन्त्रीपरिषद् बैठकमा लगिने बताउनुभयो ।

सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने बताएसंगै केही दिन यता उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गर्दै आएको छ । समितिले यसअघि अर्थविद्, स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतसँग छलफल गरिसकेको छ ।