कोरोना भाईरसका कारण जोखिममा रहेका महिलाहरुका लागि छुट्टै निर्देशिका बनाई लागू गर्न सांसद रावलको माग

काठमाण्डौं । कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिका कारण जोखिममा परेका महिलाहरुको लागि छुट्टै निर्देशिका बनाई लागू गर्न राष्ट्रिय सभा सदस्य (सांसद) दिलकुमारी रावल थापा (पार्वती) ले माग गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभामा बोल्दै रावलले जोखिममा रहेका गर्भवती तथा सुत्केरीहरुको लागि छुट्टै निर्देशिका बनाई लागू गर्न सरकारसँग जोडदार माग गर्नुभएको हो ।

उहाँले स्वास्थ्य संस्थामा यस्ता महिलाहरुलाई भयरत तरिकाले जान सक्ने र उपचार सेवा पाउन सक्ने स्थिति निर्माण गर्न पनि माग गर्नुभयो । नेपालमा संक्रमण बढ्दो रहेको बताउँदै उहाँले संक्रमबाट जोगिन, संयमित रहन र जारी निर्देशिका पालना गर्न पनि आम नागरिकलाई आव्हान गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो “हामी लकडाउनको अवस्थामा छौं । हरेक आपत, विपत संक्रमणले पहिलो जोखिम पार्ने, गर्भवती महिला, सुत्केरी, नवजात शिशु, बालबालिका, अशक्त, जेष्ठ नागरिक अपाङ्ग भएका व्यक्तिहरु हुन् । शारीरिक र मानसिक रुपले पनि बढी संवेदनशील रहेका गर्भवती तथा सुत्केरी अवस्थाका महिलालाई हाम्रो समाजमा गरिने परम्परागत व्यवहार, अन्धविश्वासी, रुढीवादी चलन र व्यवहारले पनि उनीहरुको स्वास्थ्यमा गम्भीर असर पु¥याउँदै आएको छ ।”

हालको अवस्थाका कारण गर्भवती र सुत्केरीहरुले सेवा अभावका कारण ५८ जनाले मृत्युवरण गर्नुपरेको समाचार माध्यममा आईरहेको बताउँदै उहाँले यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “यसको आधिकारिकता के हो ? सरकारका तर्फबाट जानकारी गराउन माग गर्दछु ।”

लकडाउनको अवस्थामा घरेलु हिंसा, सामाजिक हिंसा, बलात्कार, हत्या, आत्महत्याका घटनामा बढोत्तरी भएको बताउँदै उहाँले महिलाहरु कामबाट विमुख हुनु परेको, सन्तुलित आहार र औषधिको अभावमा कडा रोगसँग लड्न बाध्य भएको बताउनुभयो ।

लकडाउनका कारण उत्पन्न परिस्थितिका कारण महिलाहरुलाई गर्भावस्थालाई व्यवस्थिापन गर्न कठिनाई भएको बताउँदै उहाँले भन्नुभयो “सिंगो राज्यको ध्यान कोरोना नियन्त्रणतर्फ गईरहेको अवस्थामा महिलामाथि भएका यस्ता घटनामा सरकारको ध्यान पुग्न सकेको छैन । यसमा सुधार ल्याउन सरकारसँग माग गर्दछु ।”

महिलाहरुलाई उचित परामर्श, उचित स्वास्थ्य सेवा, कानुनी उपचार र सुरक्षामा विशेष ध्यान पु¥याउन पनि उहाँले सरकारसमक्ष आग्रह गर्नुभयो ।

साथै रुकुममा भएको अमानवीय घटनाको घोर निन्दा गर्दै सांसद पार्वती रावलले अपराधमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्नुभयो । सांसद रावलले बाँके दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।