चितवन मेडिकल कलेजलाई तिर्ने पैसा नहुँदा सिद्धीकि १८ महिने चेपाङ बालिकाको बिचल्ली

भरतपुर । कालिका नगरपालिका वडा नं–१०, सिद्धिकी १८ महिने सदीक्षा चेपाङ चितवन मेडिकल कलेज (सिएमसी)को शैय्यामा छटपटाइरहेकी छन् ।

सामान्य ज्वरो आएकै बहानामा एक्कासि बेहोस भएपछि बुबा वर्षा चेपाङले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज पुर्‍याए । तर, ती दुईवटा अस्पतालमा उपचार हुने अवस्था नदेखिएपछि सिएमसी ल्याए । उपचारको आशमा एक महिनादेखि अस्पतालमा राखे पनि बिरामीको अवस्था सुध्रिएन । तर, विपन्न परिवारमा जन्मिएकी सदीक्षाको उपचारको नाममा रकम चढ्न छोडेको छैन ।

अस्पतालमा हालसम्म २० हजार रूपैयाँ मात्रै बुझाएका छन् उनले । बाँकी सबै अस्पतालको बिलमा मात्रै हिसाब चढेको छ । बालिकाका बुबा वर्षाका अनुसार अस्पतालले अहिलेसम्मको शुल्कमात्रै एक लाख ५३ हजार ८६० रूपैयाँ देखाएको छ । अस्पताल र बाहिरको फार्मेसीमा औषधि किनेको बिलमात्रै करिब ८० हजार पुगेको उनले बताए । तर, सामान्य ज्याला मजदुरी पनि लकडाउनका कारण रोकिएपछि बेरोजगार बनेका उनलाई छोरीको उपचार त भएन भएन, हालसम्मको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले सताएको छ ।

‘अस्पतालले उपचार हुँदैन, घर लैजा भन्छ, लैजान खोज्दा पैसा नतिरेसम्म लैजान पाइँदैन भन्छ’, वर्षा भन्छन्, ‘उपचार हुने आशामा उधारोमै भए पनि यतिको खर्च गरियो, अहिले न बिरामीको अवस्था सुध्रियो न त पैसा जुटाउन सकियो, म त ठूलो समस्यामा परेँ हजुर ।’ घरमा भने श्रीमती सुत्केरी भएको एक हप्तामात्रै भयो । आफू छोरीलाई लिएर अस्पतालमा बसेपछि घरमा श्रीमतीको हालत के होला भन्ने अर्को चिन्ता छ । ‘यता छोरीको चिन्ता, उता श्रीमती सुत्केरी, म त दोहोरो मारमा परेँ’, उनी भन्छन्, ‘अस्पताल र औषधि पसलमा भएको उधारो रकम बुझाउन पाए जे भए पनि घरै लैजान हुन्थ्यो ।’

समस्यामा परेपछि आफूले भन्न मिल्ने सबै ठाउँमा भने पनि केही उपाय नलागेको उनको भनाइ छ । अहिले उनी कसैले सहयोग गरेर अस्पतालबाट छोरी बाहिर ल्याउन पाए हुन्थ्यो भन्ने आशामा बसिरहेका छन् । छोरीको उपचार गर्ने खर्च नै नभएपछि चाउचाउ र बिस्कुटको भरमा दिन कटाइरहेको उनले बताए ।