गाउँपालिका अध्यक्षसहित गुल्मीका थप दुई जनामा कोरोना, सिडिओदेखि पत्रकारसम्मको स्वाब सङ्कलन

गुल्मी, जेठ १३ । गुल्मीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा गाउँपालिका अध्यक्षसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दुई जनामध्ये एक जना गाउँपालिका अध्यक्ष र अर्का भारतबाट आई धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेको ब्यक्ति हुन । संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख भवानीप्रसाद शर्माले संक्रमित दुवै जनालाई सदरमुकाम तम्घासमा रहेको आइसोलेसनमा राखेर उपचार गरिने जानकारी दिनुभयो ।

गुल्मीमा जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण देखिएपछि उनको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारीदेखि पत्रकारसम्मका ४४ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जनप्रतिनिधिको सम्पर्कमा आएका जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख, कार्यालय प्रमुखहरू र पत्रकारलगायत ४४ जनाको स्वाब सङ्कलन गरिएको र स्वाबलाई प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा परीक्षणका लागि पठाइने शर्माले जानकारी दिनुभयो ।

मृतक शिक्षकको सम्पर्कमा आएका एक जनामा कोरोना

कोरोना सङ्क्रमणबाट मृत्यु भएका शिक्षकको सम्पर्कमा आएका एक जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । जिल्लाको मदाने गाउँपालिका पुर्कोटदहका ४१ वर्षीय पुरुषको उपचारको क्रममा क्रिमसन अस्पाताल, रुपन्देहीमा मृत्यु भएको र उहाँको सम्पर्कमा आएका ३० जनामध्ये एक जनाको रिपोर्ट पोजिटिभ आएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिनुभयो । उहाँको सम्पर्कमा आएका एक जनाको सदरमुकाम तम्घासमा रहेको आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ । योसँगै गुल्मी जिल्लामा मृतक शिक्षकसहित चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।