चितवनको ऐतिहासिक एंव पर्यटकिय स्थल ‘उपरदाङगढी’ लकडाउनका कारण सुनसान (फोटाे फिचर)

चितवन । चितवनको पुरानो सदरमुकाम तथा ऐतिहासिक एंव पर्यटकिय स्थल ‘उपरदाङगढी’ लकडाउनका कारण सुनसान बनेको छ । उपरदाङगढीको अबलोकन गर्न दैनिक रूपमा २ सय भन्दा बढी आन्तरिक पर्यटक जाने गरेपनि लकडाउनका कारण भने पर्यटकको संख्या घटेकाे छ ।

हाल दैनिक ५/७ जना मात्र आउने गरेको स्थानिय होमस्टे संचालक गणेश गुरुङले बताउनु भयो । यहाँ पाहुनाहरु घुम्न आउने र होमस्टेमा बस्ने गर्नु हुन्थ्यो, लकडाउन शुरु भएपछी त कोही पनि बस्ने गरि आउनु भएको छैैैन, उहाँले बताउनु भयो । जिल्ला सदरमुकाम भरतपुरबाट पदमपुर- क्लब चोक- शक्तिखोर हुँदै ३५ किमि र पुर्ब पश्चिम राजमार्गको टाडी बजारबाट पनि शक्तिखोर हुँदै ३२ कीमी को यात्रा पछी पुग्न सकिने सो गढी मोटर बाइकमा सजिलै जान सकिन्छ ।

शक्तिखोरसम्म पिच बाटो रहेको छ भने शक्तिखोरबाट १२ किमि कच्ची पहाडी बाटो भएर जानुपर्ने हुन्छ । बाइक अथवा फोरव्हिलर गाडी लिएर पनि सो बाटोमा यात्रा गर्न सकिन्छ । शक्तिखोरबाट हिँडेर पनि  करिब ३ घण्टामा उपरदाङगढी पुग्न सकिन्छ ।

उपरदाङगढीको  यस्तो छ इतिहास

उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको थियो । विक्रम् सम्वत् २०१६ सालसम्म महत्वपूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेका थिए ।

ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने हाल इच्छाकामना गाउँपालिका-७ (दाहाखानी गाविस-३)मा पर्दछ । समुदि् सतहदेखि १२७५ मिटर उचाइमा पर्ने यो किल्ला तल्कालीन बाइसे-चौविसे राज्य एकीकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भुमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएका थिए । गढी सन् १८०० मा निर्माण भएको र सन् १९६० सम्म चितवनको सदरमुकाम रहेको पुरातत्व विभागले जनाएको छ ।

तीन फुट चौडाई तथा छ फुट उचाई भएको प्रवेशद्वार रहेको गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् । ढुंगा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाई तीन फिट रहेको छ । गढीमा नौ वटा सेन्ट्रीपोष्ट छन् । लगभग ३ फिट बाक्लो पर्खालको चारै दिशातर्फ तोप पड्काउने उद्देश्यले ९ वटा खुल्ला झ्यालहरु बनाइएको छ ।

किल्लाको दक्षिणी भागमा भगवान शिव र कालिकाको मन्दिरको भग्नावशेष मात्र बाँकी छ भने गणेशको मन्दिर प्रवेशद्वारमा छ । बज्रयोगिनी र बालकुमारी देवीको मन्दिर भने किल्लाभित्र छ । चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोत घर छ । गढीको सुरक्षाका लागि भनेर तारबार लगाउनुका साथै कोत घरको  निर्माण गरिएको छ ।

बाह्रै महिना जाडो हुने यो ठाउँ वातावरणीय हिसावले पनि रमणीय छ । आकाश सफा भएका बेला मनास्लु, गणेश हिमाल लगायतका हिमालहरु उपरदाङगढीबाट देख्न सकिन्छ । पहाडमा रमाउने जुरेली, रानी चरी, कुथ्रुके, तोरीगाडे, चाँचर, हुँचिल, न्याउली, भ्याकुर जस्ता अनेक प्रजातीका चराहरु यहाँ पाइन्छन् । उपरदाङगढी र नजिकै रहेको चिसापानीटार चरा अवलोकनका लागि राम्रो स्थान भएकाले पर्यटकको संख्या अझ बढ्न सक्ने देखिन्छ ।

अग्लो चुचुरोमा रहेको गढीबाट  नारायणगढ, भरतपुर र चितवन जिल्ला छर्लङ्ग देखिने भएकाले यो गढी रणनीतिक हिसावले पनि महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । यो रमणीय स्थान चेपाङ, मगर र गुरुङहरुको पातलो बस्तीले घेरिएको छ । आर्थिकरुपले विपन्न तर सोझा र परिश्रमी यी जातजातीहरुको आफ्नै मौलिक परम्परा, सँस्कृति र रितिरिवाज छन् । गढी क्षेत्रमा पुग्ने पर्यटकका लागि खान, बस्न होमस्टेको सुविधा छ जहाँ यी तीनै जातिहरुको कला सँस्कृति एकैठाउँ अवलोकन गर्न पाइन्छ । हाल कटेज रेष्टुरेन्ट पनि खुलेको छ ।

पर्यटकहरुको लागि पैदल मार्ग (ट्रेकिङ रुट) बनाइएको छ । पर्यटकहरु प्रायः हुग्दी हुँदै हात्तिवाङ, सिराइचुली, ज्यानदाला , गढी, शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज पुग्छन् । पर्यटक र पथ प्रदर्शकका लागि सम्बन्धित ठाउँहरुमा होमस्टेको ब्यवस्था भएपनि उपरदाङगढीसम्म पुग्ने राम्रो बाटो नबन्दा यस अघि  समस्या भएको थियो । अहिले शक्तिखोर देखि उपरदाङगढी हुदै फिस्लिङ सम्म मोटर बाटो बनिरहेको छ । सो बाटो २ बर्ष भित्र कालोपत्रे समेत हुदै छ । सो बाटो बनेपछी भने उपरदाङगढी जाने पर्यटकमा अत्याधिक वृद्धि हुने देखिन्छ ।

आर्थिक, सामाजिक रुपमा पिछडिएका चेपाङ,उपरदाङगढी गुरुङ, मगर, तामाङ लगायतका जनजातिको बाक्लो बस्ती रहेको शक्तिखोर, दाहाखानी, काउले क्षेत्रका बासिन्दाको आयआर्जन सुधार गर्न नेपाल सरकारले ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम सञ्चालन गर्दा यस क्षेत्रमा होमस्टे सञ्चालन गर्न शुरु गरिएको थियो ।