चितवनमा संक्रमितको संख्या पाँच पुग्यो: चितवनमा थप दुई र नवलपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा आज (शुक्रबार) थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–६ गीतानगर निवासी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ । यस्तै आज नै नवलपुरको चोरमारा निवासी एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

चितवनका संक्रमितहरु मध्ये एक जना ७४ वर्षीय पुरुष र अर्का ७३ वर्षीया महिला रहेका छन् । यस्तै चोरमाराका संक्रमित ४५ वर्षीय पुरुष हुन् । चितवनमा नयाँ संक्रमित संख्या थपिएसंगै कुल संक्रमितको संख्या ५ पुग्यो । चितवनका संक्रमित मध्ये यसअघि दुई जना निको भएर घर फर्किएका छन् भने एक जना काठमाडौंमै उपचाररत छन् ।