नेपाली सेनाको टोली दार्चुलाको घांटीबगर ईलाकामा तैनाथ: अतिक्रमित क्षेत्र पनि सेनाले हेर्ने

काठमाडौं । नेपाली सेनाको टोली दार्चुला जिल्लाको घांटीबगर ईलाकामा तैनाथ भएको छ । दार्चला टिंकर सडक निर्माणका लागि नेपाली सेनाको टोली घांटी बगरमा तैनाथ भएको हो । मन्त्रिपरिषद्को वैशाख १४ मा बसेको बैठकले महाकाली करिडोर (दार्चुला टिंकर सड्क योजना) अन्तरगत उत्तरी तर्फ रहेको ८७ कि.मि.सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय गरेको थियो सोही प्रयोजनका लागि नेपाली सेनाको टुकडी त्यहाँ लगिएको हो । सशस्त्र प्रहरीको टोली छाङरुमा सीमा सुरक्षाका लागि पुगे लगत्तै नेपाली सेनाले पनि आप्mनो उपस्थिति देखाएको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयले सो सडक खण्ड अन्तर्गत पर्ने दार्चुला जिल्लाको व्यांस गांउपालिका वडा नं.२ स्थित घांटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त विहिवार विहान ११ बजे घांटीबगर इलाका नजिककै नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएकाे जनाएकाे छ ।

साथै बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली जेष्ठ ९ गते तैनाथ गर्ने याजना रहेको सेनाले जनाएको छ ।

चीन र भारतको सिमा नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गा.पा.१ मा पर्ने छाङरु र टिंकर गाउंका करिब १८२ घर परिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नको लागि व्यास गा।पा।२ मा पर्ने मौरी भिरमा ठुलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या भएको तथा स्थानीय बासिन्दाले हालसम्म भारत तर्फ रहेको बाटो प्रयोग गर्दै आएकोले त्यसलाई मध्यनजर गर्दै सेना तैनाथ भएको हो ।

घांटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक खण्ड निर्माणको लागी नेपाली सेनाको प्रावधिक जनशक्ति सहित से.मु. प्लस नफ्रिको फौज घांटीबगर ईलाकाको थी ईलाकामा तैनाथ गर्ने योजना मुताविक आज सो फौज तैनाथ भएका सेनाले जनाएको छ ।

सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमी प्रयोग गरी आवत जावत गर्न सक्नेछन् । नेपाली सेनाले सरकारबाट प्राप्त कुनै पनि जिम्मेवारीहरुलाई पूर्ण प्रतिवद्धताका साथ सम्पन्न गर्दै आएको दावी समेत गरेको छ । त्यसका साथै संविधानको मर्म र भावना अनुरुप नेपालको बिकास निर्माणको क्षेत्रमा प्राप्त जिम्मेवारीलाई समेत उपलव्ध श्रोत साधन, जनशक्ति र प्राविधिक विज्ञताको पूर्णतया उपयोग गर्दै यथासम्भव छिटो सम्पन्न गर्ने तर्फ आवश्यक कारवाही तत्काल अगाडी बढाउने जानकारी दिएको छ ।