नेपालमा पहिलो पटक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर संक्रमित

काठमाडौं । पहिलो पटक सरुवा रोग नियन्त्रण महाशाखाका डाक्टरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस कोभिड १९ महामारी पहिलोपटक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का एक चिकित्सकमा देखिएको स्रोतले जनाएको छ ।

महामारी नियन्त्रण तथा रोकथामसम्बन्धी अनुगमनमा विभिन्न जिल्ला गएर आएका एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको स्रोतले जनाएको हो ।

महाशाखामा हाल करिव सय हाराहारीमा चिकित्सक, स्वास्थ्यकर्मी कार्यरत छन् । एक जनामा कोरोना देखिएपछि अहिले सँगै काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मीलाई कहाँ राख्ने भन्ने विषयमा गम्भीर छलफल चलिरहेको छ ।

स्रोतका अनुसार कतै होटलमा क्वारेन्टाइनमा राखेर भोली पिसिआर जाँच गरेपछि मात्रै थप कदम चाल्नुपर्ने काममा खटिएकाहरुका माग छ । अधिकांश देशमा महामारी नियन्त्रणमा खटिने कर्मचारीलाई एक हप्ता काम गरेपछि २ हप्ता अनिवार्य क्वारेन्टाइनमा राखिनुपर्ने नियम भएपनि पालना नगर्दा समस्या आएको हो ।

स्वास्थ्य मन्त्रालयले अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाका ३ सहित १३ जिल्लामा २७ जनामा कोरोना पोजेटिभ देखिएको सार्वजनिक गरेको थियो । तीमध्ये काठमाडौंमा ३, भक्तपुरमा १ र ललितपुरमा १ जनामा कोरोना पोजेटिभ देखिएको विवरण सार्वजनिक भएको थियो ।