नेपालमा कोरोनाका कारण थप एक २५ वर्षका पुरुषको मृत्यु

काठमाडौं, ४ जेठ। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको मृत्यु भएको छ। नेपालमा थप अर्का एक संक्रमितको मृत्यु भएको हो। बाँके नरैनापुर ५ का २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस विषयमा थप विवरण आउन बाँकी रहेको बताए। ती युवालाई शनिबार राती ज्वरो आउने र झाडापखलाको समस्या देखिएको थियो। उनको आइतबार बिहान ६ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो। उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए। यसअघि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय सुत्केरीको मृत्यु भएको थियो।