धुलिखेल अस्पतामा पिसीआरमा कोरोना पुष्टि भएकी महिलाको मृत्यु, थप पुष्टिका लागि नमूना टेकु पठाइयो

काठमडौं, ३ जेठ । धुलिखेल अस्पतालमा उपचाररत एक जना सुत्केरीको मृत्यु भएको छ । अस्पतालमा भर्ना भएकी २९ वर्षीया एक महिलाको उपचारको क्रममा शुक्रवार मृत्यु भएको अस्पतालले जनाएको छ । सिन्धुपाल्चोक स्थायी ठेगाना भएकी ती महिला १० दिनकी सुत्केरी थिइन् ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केपछि बिरामी भएर तीनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी पश्चातपनि उनको रगत बग्ने, श्वासप्रश्वासमा समस्या, एक्स रे गर्दा छातीमा निमोनिया देखिएको अस्पताल स्रोतले बताएको छ ।  कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा उनको थ्रोट स्वाबको परीक्षण गरिएको र आजमात्रै पीसीआरमा उनको रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका एक जना डाक्टरले नाम नखुलाउने शर्तमा  बताए ।

उनले धुलिखेल अस्पतालमा ती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भएपनि थप पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पनुः जाँचका लागि पठाइएको बताए । साथै कोरोना संक्रमितको जानकारी स्वास्थ्य मन्त्रालयले नै दिने भएकाले यो विषयमा आधिकारिक जानकारी मन्त्रालयले नै सार्वजनिक गर्ने पनि बताए ।  यदि टेकुको नतिजामा पनि कोरोना पुष्टि भएको आयो भने यो नेपालको पहिलो कोरोना संक्रमितको मृत्यु हुनेछ । copy.. hamrodoctornews