धूलो धुवाँको बन्ध्याकरण

अतृप्त । भूतखेल चौरमा पुग्दा बिहानको उज्यालो परिपक्क भइसकेको थिएन । चौरमा टेकिसकेको थिएँ । म र सुरक्षाकर्मीवीचको दूरी मात्र दुई सय मिटरको फरकमा थियो । चौरमा कर्तव्यपरायण सुरक्षाकर्मीले मलाई हातकै इशारामा आदेश दिए, जानुस् ! म नाजवाफ भएँ, फर्किएँ ।

२०७१ देखि यता त्यो चौरले दिनका दिन मुठीका मुठी मेरा स्वेच्छिक पसिना चुसिसकेको छ । तर, पहिलोपटक म फर्काइएँ । क्लेस मात्र पनि गुनासो ममा छैन । चौरसँग मेरो भावनात्मक सामिप्यता छ । फर्काइएको ठयाक्कै ५ वर्षअघि ज्यान बचाउन चार महिनाकी छोरीलाई काखी च्यापेर सपरिवार त्यो चौरमा पुग्दा तीनै सुरक्षाकर्मीले म र मेरो परिवारको हेरविचार गर्थे । हेरविचारकै निरन्तरता हो । अहिले फर्काइएँं, के को गुनासो ?

चौरले आज मेरो तीन फन्काको बोझ बोक्नु परेन । साथमै रहेकी मसानकाली देवीले मेरो अनुनय विनय झेल्नु परेन । साँझमा छिमेकीसँग खेलिने ब्याडमिन्टन कोर्ट पनि दिनभरको वर्षातले आहाल भएको छ । हाम्रा आठ पाउको बुर्कुसीबाट त्यो पनि मुक्त भयो । तर, त्यसको बोझ मेरो दैनिकीले झेल्नु परिरहेको छ । मुक्तिको अभिलाषा त ममा पनि खड्किएकै छ । लामो समयदेखि कायम बन्दाबन्दीका कारण मनको राप, ताप र सन्ताप दबाएर घरका बन्दी दिवारमा आँखा घुमाउँदा शरीर लठेब्रिएको छ ।

ओछ्यानबाटै शुरु हुने दैनिक सयौँ फोनका घन्टी बज्दैनन् अचेल । औसतमा दैनिक झन्डै दर्जन फोन आउँछन्, जान्छन् । सयौँका अगाडि दर्जनको भारी हल्का लाग्ने । त्यसैमा पनि धेरै परिवारका !

फोनको घन्टी मेरो मोबाइलमा बज्छ । आमा दिनहुँ सोध्नुहुन्छ, नानीहरुलाई कस्तो छ ? सावाको भन्दा ब्याजको औधी माया मान्ने बेला हो यो ! फेरि पनि केहि गुनासो छैन ।

हेर्दाहेर्दै फोनमै भएपनि बात मार्न पाए हुन्थ्यो भन्ने दिन आए । मानसिक थकानसँगको सम्बध बिच्छेदले डेढ महिना पार गर्‍यो । शारीरिक थकानसँगको एक दिवसीय बिच्छेदले त्यो रातको निद्रा उत्रियो । ‘निद्रा नलाग्नु पाप हो’ झट्ट सम्झें महाकविलाई । ओशो रजनीशको ‘म मृत्यु सिकाउँछु’ किताव अध्ययनकै क्रममा छु । रजनीश भन्छन्, ‘मानिसलाई निदाउन नदिनु नै सबैभन्दा ठूलो सजाय हो ।’ निद्रा नलागेपछि आफ्नै ओछ्यान पनि बोझ हुन्छ, बिझाउँछ । निद्रा नै नलाग्ने गरी न त पाप, न त मस्त निदाउने गरीको पुण्य दुवैमा अनुभवहीन छु म । फेरि केका लागि सजाय ? उठेँ । एउटा मधुर प्रश्न छ, त्यता सुत्ने बेलामा कता ?

रातको साम्राज्य

रात नढल्किँदै सुत्नु भन्छ हाम्रो शास्त्रले, म प्राय त्यसै गर्छु । जबर्जस्ती उठ्दा पनि रात छिप्पिइसकेको छैन । होसियारीपूर्वक ढोका खोलेँ । नत्र आमाका कलिला सावा कुबेलामा उठ्ने जोखिम ज्युँका त्यूँ हुन्छ । एउटा मात्र ढोका खोल्दैमा कौशीमा पुगिँंदैन, अर्को पनि उसै गरी खोलेँ । कौशीको बायाँपट्टि तीन–चार गमलामा मुस्किलले हुर्काइएका फूल छन् । लालुपाते, रबर, धुपी र अर्को एउटा छ, घरका कसैलाई नाम थाहा नभएको ‘बेनामे’ । यी मध्ये तीनवटाले बसन्तमा आफ्नो अनमत्त बैंश पस्केका छन् । बाँकी एउटाले यो फुर्सदको लाभ उठाएर भर्खरै पालुवा फेर्न थालेको छ । म भने मेरो अनिद्राको पाप पखाल्न, सजाय खेप्ने तयारीमा लागेँ ।

एक जना भतिज डाक्टर त्यो साँझ घरमा आएका थिए । अंकल अवको दुई–तीन दिनको चन्द्रमा यस्तो हुन्छ, उस्तो हुन्छ, बढ्ता प्रकाश दिन्छ, भन्दै मोबाइलमा नानाभाती देखाउँदै थिए । ‘काशी जानु कुतीको बाटो’ खासै चासो देखाइनँ । आफूलाई कोरोनाले साधेको निशाना कहिले सकिएला भन्ने भइरहेको छ ।

होकि क्या हो ? साँझको संवाद याद आयो । आखिर चन्द्रमाको प्रकाशले प्रदीप्त बनेका हुन् त यी फूल ? बिहान मसानकालीमा झुकाउन नपाएको शीर झुकाएँ । गहिरोसँग हेरेँ । फूलको सौन्दर्य हेरेर लिनू, टिपेर वा छोएर होइन । कतै पढेको थिएँ, भगवानलाई चढाउने फूल पनि टिप्नु हुँदैन, खसेको चढाउँदा पनि बराबर फल पाइन्छ । हा… छुन्छु, मनले मानेन । छोई हेरेँ । अघिपछि धुलाले फुर्सै हुने हात यसपटक चिल्लै फर्के ।

घरको पर्खालभित्र सीमित क्षेत्र र संख्यामा हुर्काइएका फूलको स्वच्छन्दताले मलाई झन्डै तीन दशक पुरानो मेरो विद्यालय जीवनमा फर्काइदियो । रजनीशको भनाइ ताजै छ, ‘पङ्खा जोडले घुमेको बेलामा त्यसका तीनवटै पखेटा देखिँदैनन् ।’ बसन्तले मैमत्त मेरो नजिकै भएका ती तीनै फूल देख्न छाडेँ । ‘हाँडीकोट’को त्यो सुसुप्त पुनरावृत्तिले वर्षौंको परिश्रम खर्चेर बउलाएका ती निर्दोष फूल छायामा परे ।

हाँडीकोट बागलुङ्को दक्षिणी भेगमा अवस्थित घना जङ्गलले घेरिएको एक ऐतिहासिक पर्वत हो । समुद्री सतहबाट २ हजार ३ सय ३ मिटरको उचाइमा रहेको यस पर्वतमा सम्वत् १५१० सम्म मगरहरुको राज्य रहेको विश्वास गरिन्छ । मेरो विद्यालय जीवन त्यही पर्वतको पारिपट्टि बितेको हो । घरका फूलले आफ्नो बैंशको स्वच्छन्दतायुक्त उन्मुक्त हाँसो बाहिर पोख्न नपाए पनि यसपटक कौशीमा पोख्ने सौभाग्य पाएका छन् । हाँडीकोटले हाम्रो कुर्कुरे बैंश (टीन एज) को बेसोमती हाँसोलाई चुपचाप सहेरै, हामीलाई गरिखान यता लखेटिदिएको हो ।

चुचुरोबाट पाल्पा तानसेनसम्मको दृष्यावलोकन गर्न सकिने हाँडीकोट यो बसन्तमा साच्चै हेर्नलायक हुन्थ्यो । जङ्गल हरियोको पनि उन्नत चरणमा पुगेको कालो देखिन्थ्यो । जङ्गलको कन्चन पानीका घुट्का–घुट्का पेटमा पुग्दा त्यत्रो उकालो उक्लँदाको भोक, प्यास र थकान एकैपटकमा निमिट्यान्न हुन्थ्यो । त्यो निर्मल प्राकृतिक सौन्दर्य, ऐतिहासिक पृष्ठभूमि र हाम्रो कुर्कुरे बैंशको यो त्रिकोणात्मक संगमलाई त्यो अजङ्ग पर्वत हाँडीकोटले धेरै सिकायो । मैले जे जति प्रकृतिलाई न्याय गर्न सिकेँ, त्यहीँको प्राकृतिक सौन्दर्यले पुलकित भएर सिकेको हुँ । वाह्र वर्षको अन्तरालमा गएको वर्ष म त्यहाँ पुग्दा हाँडीकोटको फेदी पनि कोपरिएका, चिथोरिएका थिए । सोचेँ यो हाँडीकोटबाट मैले जे पाएँ, त्यो मेरो भावी पुस्ताले अब पाउनेछैन ।

दिनको सत्य

म फर्कें । कुर्कुरे बैंश र विद्यालय उमेर अब खोजेर कहाँ पाइन्छ ? उतै छाडिएछ । पूर्वी क्षितिजमा सूर्योदयले आफ्नो साम्राज्य फिँजाउने बेलाको रापिलो प्रकाशले म मेरो रात्रीकालीन निजी साम्राज्यबाट ब्यूँझेँ । हाँडीकोटको सुसुप्त पुनरावृतिलाई चेतन मष्तिस्क हुँदै शब्दमा उतारी सकेको छु । पर्दा खोलेँ । फुर्के उज्यालो टक्क मेरो आँखामा पर्‍यो । यदि मैले त्यो पर्दा त्यसरी नै चैत १० गते उघारेको भए ?

हिँजोको त्यो घटना यदि घट्दैनथ्यो भने म यतिखेर भूतखेल चौरका लागि हिँडिसकेको हुन्थेँ । म राज्यको नागरिक हुँ, राज्यले निर्दिष्ट गरेका नीति नियमको पालना गर्नु मेरो कर्तव्य हो । मैले भूतखेलको विकल्पमा आफ्नै घरको छतलाई रोजेँ ।

त्यो छत मेरो देशको राजधानी काठमाडौंको आकासमुनि पर्छ । भूगोल काठमाडौंकै उत्तरतर्फ । पैसा नपरेका, छरछिमेकीले दिएका र आफन्तसँग अनुनय विनय गरी ल्याइएका फूल त्यही खुल्ला छतमा छन् । ती पनि सबै बसन्तको बैंशले उनमत्त छन् । फक्रेका छन् । फूलेका छन् । छतको शोभा बढाएका छन् । चिल्ला छन् । यो वैशाखमा तापूतापू लाग्ने घाम जताजता जान्छन् त्यतैत्यतै गुन्द्री तानेर उनकै छतमा बस्ने मेरा परम छिमेकीलाई आनन्द दिलाएका छन् । हाँडीकोट जस्ता दर्जनौँ पर्वतले त्यो आकास र यो भूगोल घेरिएको छ, छोपिएको छ । ती सबै अहिले घरबाटै नाङ्गा आँखाले स्पष्ट देख्न सकिन्छ । मानिलिनुहोस् लकडाउन पूर्ण रुपमा हटेको एकाध हप्तामा मैले मेरो छतमा आउने अनुमति तपाईंलाई दिएँ भने ?

हामी प्रकृतिका श्रेष्ठ जीव हौँ । श्रेष्ठले शिष्टता समस्त जीवचरमा र सिङ्गो भूगोलमा प्रदर्शन गर्नु पर्छ । इमान्दारीसाथ भन्छु, त्यो हामीमा पटक्कै छैन । शिष्टताको प्रदर्शन अमुक वस्तुमा पनि हुनु पर्छ, तब मात्र तपाईं श्रेष्ठ हुनुहुन्छ र तपाईंप्रति सबैबाट न्याय हुन्छ । माया–प्रेम, संवेग–आवेग यी सबै कुर्कुरे बैंशका चारित्रिक विशेषता हुन् । ती सबैलाई नियन्त्रण वा प्रदर्शन गर्न प्रकृति अनिवार्य सहारा हो । मानव सभ्यता र जातीमाथि बेलाबेलामा आइलाग्ने बज्र प्रहार प्राकृतिक दोहनकै परिणती हो । तपाईं हाम्रो माया–प्रेम, संवेग–आवेगलाई जसरी नियन्त्रण र प्रदर्शन गर्न प्रकृति सहारा बन्यो । त्यसैगरी हाम्रा हरेक उमेरगत सजिला अप्ठ्यारामा प्रकृति सहारा बन्छ । विज्ञानको बिरासतालाई समेत निमेषमै निषेध गर्ने अदभूत शक्ति प्रकृतिसँग रहन्छ भन्ने शास्वत सत्यलाई अब स्वीकार्नैपर्ने हुन्छ ।

दक्षिण एशियाका संवेदनशील मानव वस्तीमा जनसंख्याको चाप तिब्रोत्तर छ । बढ्दो सहरीकरण व्यक्ति–व्यक्तिमा मौलाएको पछिल्लो प्रदर्शन कसैलाई देखाउनलायक भय पनि धेरैलाई देख्नलायक छैन । सम्पदाहरुको दोहनसँगै निर्माण हुने भौतिक संरचना भित्र–भित्रै प्राकृतिक विपत्तिको चुनौतीसँग पौठेजोरी खेल्दै होलान् । सधैँ विज्ञान र भौतिकताले जित हात पारे पनि अन्तिम जीत प्रकृतिको हुन्छ जुन प्रिय–अप्रिय जे पनि हुन सक्छ ।

भूगोल माथिको त्रि–ध्रुव्रीय धक्का भूकम्प, सुनामी र न्युक्लियर बिष्फोटका थरीथरी घटनाहरुको विभत्स आकृतिले हाम्रो होस हवास उडाइदिन्छ । हामीमा बढ्दो भौतिक आशक्ति र त्यसैलाई प्रगती ठान्ने प्रवृत्ति दुर्बल मानवीय प्रयत्नबाहेक केही होइन । सम्भवतः धूलो धुवाँको अस्थायी बन्ध्याकरण गरिदिएको वैश्यिक महामारी कोरोना भाइरस (कोभिड– १९) पनि यस्तै उपक्रमको परिणती त होइन । धन्यवाद !

From.. omlinekhabar