नेकपाको स्थायी कमिटी बैठक स्थगित : अध्यक्षद्वय ओली-प्रचण्डबीच भयो यस्तो सहमति

काठमाडौं, बैशाख २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बिहीवार बोलाइएको स्थायी कमिटी बैठक स्थगित गर्नुभएको हो ।

बैठकको एजेण्डा र कार्यसुची तथा सरकारको नीति तथा कार्यक्रम र बजेटको बिषयमा सरकारले रफ्तारमा काम गर्नुपर्ने अवस्थाका आधारमा दुवै अध्यक्षले बैठक स्थगित गर्ने निर्णय लिनुभएको हो । नेकपाको गत बैशाख २० गते बसेको सचिवालय बैठकले बैशाख २५ अर्थात बिहीवार स्थायी कमिटी बैठक बोलाउने र सो बैठकमा सहमतिको एजेण्डा लाने निर्णयसहित आज सचिवालयको बैठक तोकेको थियो ।

आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले गृहकार्य नपुगेको जानकारी दिनुभएपछि बैठकको एजेण्डादेखि बैठक बस्ने कि नबस्ने भन्ने निर्णय लिन अध्यक्षद्वयलाई जिम्मा दिएको थियो । सचिवालय बैठकलगत्तै अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी स्थायी समिति बैठक नबस्ने निर्णय लिनुभएको हो । नेकपामा दुई अध्यक्षको सहमतिमा भएको कुरा नै आधिकारिक निर्णय हुने बिधानको ब्यवस्था छ । सोहीअनुसार स्थायी कमिटी बैठक स्थगित भएको हो ।

बैठक माग गर्ने स्थायी कमिटीका सदस्यहरुले छुट्टै भेला गरी हस्ताक्षर अभियान चलाएको, पार्टी बैठकमा भन्दा अन्यत्रै ध्यान दिएको र बैठक माग गर्ने सदस्यहरुबीचमै चर्काे बिवाद भएको अवस्थालाई मध्यनजर गरी ओली र प्रचण्डले बैठक स्थगित गरी नीति कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्ने निर्णय लिनुभएको हो ।