काठमाण्डौको सनसिटी अपार्टमेन्टका पुरुषमा दोहोरियो कोरोना, पुन: अस्पताल भर्ना

काठमाण्डौ । कोरोना संक्रमण भएर उपचारपछि निको भएका अर्का एक पुरुषमा पुन: कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको हो ।

पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

ती पुरुष र उनकी ८१ वर्षीया आमामा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै पाटन अस्पतालमा उपचार गरेपछि निको भएर ११ गते घर फर्किएका थिए ।

तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिले उनको पाटन अस्पतालमै उपचार भइरहेको छ ।

यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबार नै रौतहटमा एक र वीरगञ्जमा एक भारतीय नागरिक पनि दोस्रोपटक संक्रमण भएपछि उपचार भइरहेको छ ।