ओली पक्षधरको भेला बालुवाटारमा, बहुमत भन्दा धेरै सांसद आफ्नो पक्षमा भएको दाबी

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठक बस्नु पूर्व बुधबार दिउँसो आफू पक्षीय सांसदसँग बालुवाटारमा छलफल गरेका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले सांसदहरुसँग छलफल गरेका हुन्।

छलफलमा प्रधानमन्त्री ओलीले जनताले स्थिर सरकारको पक्षमा जनमत दिएको उल्लेख गर्दै बलियो पार्टी र स्थिर सरकार जनता र कार्यकर्ताको चाहना भएको बताएका थिए। पार्टीभित्रका विवादका विषयमा कुरा गरेका प्रधानमन्त्री ओलीले कसैको पनि नाम नलिइ पार्टीलाई झन बलियो र सरकारलाई स्थिर बनाउनु पर्ने बताएका थिए।

‘अहिले स्थिर सरकारको पक्षमा जनतमत आएको छ, वर्तमान सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाएको छ, यो सरकारलाई अझै बलियो र स्थिर बनाएर अगाडि बढ्नुको विकल्प छैन,’ छलफलमा प्रधानमन्त्रीले भनेका थिए।

छलफलमा सहभागी सांसद नविना लामाका अनुसार अधिकांश सांसदहरुले पार्टी र सरकारलाई झनै बलियो बनाउनुपर्ने, विगतमा केही गल्ती कमजोरी भए सच्याएर अगाडि बढ्न सुझाव दिएका थिए।

स्रोतका अनुसार पूर्व माओवादी, माधव नेपाल र बामदेव गौतम समूहका सांसदसमेत सहभागी थिए। उपाध्यक्ष गौतमकी पत्नी तुलसा थापा पनि सहभागी थिइन्। स्रोतका अनुसार छलफलमा १११ जना सांसदको उपस्थिति थियो।

यसैगरी पूर्व माओवादीकातर्फबाट लेखराज भट्ट र प्रभु साह र बादल समूहका सांसदको पनि उपस्थिति थियो। यसैगरी माधव नेपाल समूहबाट प्रेम आलेलगायतका सांसदको उपस्थिति रहेको स्रोतले जनाएको छ। आफ्नो पक्षमा बहुमत सांसद देखिएपछि प्रधानमन्त्री ओली पक्षधर उत्साहित देखिएको छ। छलफलमा ओली निकै सन्तुलित रुपमा प्रस्तुत भएका थिए।

‘जनताले दिएको जनमत पाँच वर्षका लागि हो। जनताले केपी ओलीलाई विश्वास गरेर जनमत दिएका हुन्, यदि केही गल्ती कमजोरी भएको छ भने त्यसलाई सच्याएर जानुपर्छ तर अहिले सरकारको विकल्प खोज्ने बेला होइन भनेर अधिकांश सांसदले सुझाव दिनु भएको छ,’ सांसद लामाले भनिन्।