चितवनमा लकडाउनको बेला सरकारी गाडी दुरुपयोग गरेर खसी ओसार्न प्रयोग

चितवन । कोरोना भाइरस (केभिड १९)को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका कारण कयौं मजदुरहरु पैदल हिड्न बाध्य छन् । कतिपयले ट्रक लगायतका साधान पाए पनि भेडाबाख्रा कोचिए जसरी कष्टपूर्ण यात्रा गरिरहेका छन् ।
तर, विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको गाडी भने खसी ओसान प्रयोग गरेको खुलेको छ । प्राधिकरणको बा १ ञ १६९९ नम्वरको पहेलो नम्वर प्लेटको गाडीमा भरतपुर खानेपानी वोर्डका सदस्य विश्व ओझाले गत आइतवार खसी बोक्ने कामको लागि प्रयोग गरेका थिए । उनले पश्चिम चितवनबाट ल्याएको खसी भरतपुर ४ त्रिचोक नजिक घरमा झारेको स्थानीयले बताएका छन् ।
ओझा खसी नभई बाख्रो ल्याएको स्वीकार गरेका छन् । लकडाउनका बेला समस्या परेकोले नै गाडीमा ल्याएको उनले बताए । उनले सुरुमा ड्राइभरले ल्याएको जिकिर गरेपनि पछि आफैले ल्याएको स्वीकार गरे । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले गाडी चालकले खसी ल्याएको स्वीकार गरेको बताए । उनले गल्ती भएकोले अबका दिनमा यस्तो गल्ती नहुने बताए । उनै ओझाले केही हप्ता अघि खानेपानी बोर्डको गाडीमा समेत खसी ल्याएका थिए ।
ओझाले सरकारी गाडी दुरुपयोग गरेर निउरो टिप्न र घुम्न समेत गएको भरतपुरका एक स्थानिएले बताएका छन् । ओझाले पटक–पटक सरकारी गाडी दुरुपयोग गरेको गुनासो आउने गरेको थियो । ‘मगलपुरमा खानेपानी मर्मतका लागि गएका थियौं, खानेपानी बोेर्ड भरतपुरका प्रमुख प्रजापती दाहालले भने,त्यही क्रममा उहाँको आफन्त कहाँबाट खसी ल्याएको हो ।’ उनले खसी ल्याएको स्वीकार गर्दै त्यो गाडीमा आफू पनि रहेको बताए । खसी बोक्नकै लागि मात्र गाडी प्रयोग नभएको उनको जिकिर छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले यस सम्बन्धमा पहिले नै सूचना आएकोले विद्युतका हाकिमलाई स्पष्टिकरण सोधिएको बताए ।
उनले खानेपानी वोर्डमा समेत स्पष्टिकरण सोधिने र आवश्यक परे कारवाही गरिने जानकारी दिए । लकडाउना समयमा सरकारी गाडी कुनैपनि कामका लागि दुरुपयोग गर्न नपाइने उनले स्पष्ट पारे ।