
एजेन्सी । कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकाले इमिग्रेसन रोक्ने ठूलो फैसला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत यस्तो आदेश घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा अब आउँदो आदेशसम्म आप्रवासीलाई भिसा दिइने छैन । बसेका व्यक्तिले पनि समस्या भोग्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण समस्यामा आएको अर्थव्यवस्था र स्वास्थ्य समस्या समाधानका लागि भन्दै ट्रम्पले यस्तो आदेश जारी गरेका हुन् ।
ट्रम्पले ट्वीमा भनेका छन्, ‘अदृश्य दुश्मनको आक्रमणका कारण जुन अवस्था उत्पन्न भएको छ । उसलाई मध्यनजर गर्दै महान अमेरिकी नागरिकको रोजगारीलाई बचाउनु पर्ने हुन्छ । त्यसैले मैले एक आदेशमा हस्ताक्षर गर्छु, जसले विदेशी व्यक्तिलाई अमेरिका बस्न रोक लाग्नेछ ।’
In light of the attack from the Invisible Enemy, as well as the need to protect the jobs of our GREAT American Citizens, I will be signing an Executive Order to temporarily suspend immigration into the United States!
अमेरिकाले कुनै प्रकारको इमिग्रेसनमा रोक लगाएको छ । तर यो रोक अस्थायी हो । पछिल्लो एक महिनामा अमेरिकामा १ करोडले आफ्नो रोजगारी गुमाएपछि बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् । त्यसैले ट्रम्पले यो ठूलो कदम उठाएका हुन् ।
सन् २०२० मा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ । त्यसैले पनि उनले आप्रवासीप्रति कठोर कदम चालेको अनुमान गरिएको छ । सुरुमा पनि उनले राष्ट्रवादको नारामा चुनाव जितेका थिए ।
कोरोना प्रकोप न्यूनीकरण गर्न अमेरिकाले युरोपका धेरैजसो मुलुकसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ । अमेरिकाले क्यानडाबीच मेको मध्यसम्मै सीमा नाका कडा पार्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।