बन्दाबन्दीको शान्तिमा स्वतन्त्रतापूर्वक चिरबिराउँदैछन् चराहरु

भद्रपुर । कोरोना भाइरसको महामारीले धरतीको सबैभन्दा चतुर प्राणी मानिस घरभित्रै बन्दी भएको एक महिना पुग्नै लाग्दा जङ्गलमा रम्दै आएका चराचुरुङ्गी भने शहर र सडकतिर निष्फिक्री कावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन् । मानौँ चराहरुका लागि यतिबेला हस्तक्षेपरहित अकल्पनीय आनन्दको स्वर्गानुभूति भइरहेको छ ।

सडकमा यातायातका साधन गुडेका छैनन् । कलकारखानाले अहिले प्रदूषणकारी धुवाँ उडाएका छैनन् । हवाईजहाज र गाडीहरुको कर्कश आवाज पनि अहिले छैन । मानिसको हुल पनि छैन । प्रकृतिका अनुपम सङ्गीतकार मानिएका चराहरुको आह्लादकारी चिरबिर अहिलेको बन्दाबन्दीमा थुनिएको मान्छेको कानसम्म गुञ्जिरहेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार स्वतन्त्रता रुचाउने पक्षीहरु मान्छेको चहलपहल नभएको अहिलेको अवस्थामा ज्यादै रमाएका हुन् । शहरका मुख्य बजार क्षेत्रमा ढुकुरका जोडीहरु ढुकुरकुर गर्दै प्रणयधुन सुनाइरहेको र सडकका सानाठूला रुखहरूमा अनेकौँ प्रकारका चराले बच्चा कोरलिरहेको उहाँले बताउनुभयो । उहाँले नेपालमा ८८६ प्रजातिका चरा भएको बताउनुभयो ।

“ध्वनि प्रदूषण घटेपछि चराले शान्ति अनुभूति गर्छन् र तिनीहरु उडेर, नाचेर र चिरबिराएर रमाउन थाल्छन्”, चराहरुको खोज, अनुसन्धान र फोटोग्राफी गरिरहनुभएका झापा मेचीनगरका खरेल भन्नुहुन्छ, “चैत–वैशाख धेरै चराले गुँड बनाउने र अण्डा कोरल्ने मौसम हो, लकडाउनले साह्रै राम्रो भएको छ ।” राजमार्ग र बजारभित्रका रुखमा यतिबेला शान्तपूर्वक चराले बच्चा कोरलिरहेको उहाँले जानकारी दिनुभयो ।

गर्मी चढेसँगै झापा, मोरङ, सुनसरी र सप्तरीका सिमसार क्षेत्रमा साइबेरिया, श्रीलङ्का र अफ्रिकाबाट समेत पाहुना चरा आइरहेका छन् । ती आगन्तुक चराचुरुङ्गीलाई बन्दाबन्दीले यसअघि कहिल्यै नपाएको स्वतन्त्रता र बच्चा कोरल्ने शान्त वातावरण दिएको नेपाल पक्षी संरक्षण सङ्घका आजीवन सदस्यसमेत रहनुभएका चराविद् खरेलको भनाइ छ । बन्दाबन्दीको अवस्थामा नन्दीजन्य सामग्रीको उत्खनन नभएका कारण पानीचरासमेत उन्मुक्त भएका छन् । हुटिट्याउँ, सिम कुखुरा, बट्टाई चरा खोलाका बगर र सिमखेततिर जताजतै देखा पर्न थालेका छन् । प्रजनन मौसममा लज्जालु स्वभावका चरालाई मान्छेबाट डरत्रास नहुँदा बच्चा कोरोल्न सजिलो भएको छ ।