कमलराज पाठकको अध्यक्षतामा चितवनमा मानवअधिकारको अवस्था बुझ्न समिति गठन

चितवन। राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन अनुसार कोभिड-१९ का सन्दर्भमा चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन भएको छ। चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा समिति गठन गरिएको हो।

समितिको सदस्यहरूमा पत्रकार महासंघ चितवनका सचिव तीर्थ नेपाल र गैसस महासंघ चितवनका अध्यक्ष सुरेशकुमार अधिकारी सदस्य रहेका छन्। अध्यक्ष पाठकले आज एक विज्ञप्ति जारी गरी समितिले कोभिड-१९ का सन्दर्भमा  जिल्लामा सरकारबाट भइरहेका कार्यहरू, स्वास्थ्य उपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्य लगायतका विषयमा अनुगमन गर्ने बताए।

कोभिड-१९ बाट प्रभावित र अन्यको मानवअधिकारको अवस्थाको अनुगमन गरी स्थानीयस्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गरी आयोगमा सूचना र तथ्य प्रेषित गर्ने समितिको कार्यविधि रहेको अध्यक्ष पाठकले जानकारी दिए। विज्ञप्तिमा वर्तमान जटिल परिस्थितिमा मानवअधिकारका न्यूनतम तथा आधारभूत मूल्यमान्यता कायम राखिराख्न सबै पक्षबाट सहयोगी भूमिका रहनेमा विश्वास समेत व्यक्त गरिएको छ।