नेपालमा कोरोना संक्रमण भयावह बन्दै: संक्रमितको संख्या ३० पुग्यो, एकैदिन १४ जना थपिए

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका चितवनका दुई जना आमाछोरा भएको खुलेको छ । ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।