चितवनका एक व्यक्तिको र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

चितवन, वैशाख ३–

र्‍यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजिटिभ देखिएका चितवनको रत्ननगर नगरपालिका–१२, एक व्यक्तिको स्वाबबाट पीसीआर मेसिनमा परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।

आज (बुधबार) गरिएको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा पोजिटिभ देखिएपछि पुनः स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा आजै परीक्षण गरिएको थियो । पीसीआर मेसिन मार्फत परीक्षण गर्दा ती पुरुषमा कोरोना नेगेटिभ रिपोर्ट आएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।

कोरोनाको आशंका गरिएका ती ४७ वर्षीय पुरुष गत फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उनी आएदेखि नै १४ दिन होम क्वारेन्टिनमा बसेका थिए । त्यसपछि उनी खासै धेरै व्यक्तिको सम्पर्कमा नपुगेको स्थानीयले बताएका छन् । ती पुरुषमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । उनको गुञ्जमान सिंह हस्पिटलमा आज र्‍यापिड टेष्ट गरिएको थियो । र्‍यापिड टेष्ट पश्चात उनी घर पुगेका थिए । ¥यापिड टेष्टमा उनको रिपोर्ट पोजिटिभ आएपछि उनलाई फोन गरेर अस्पताल बोलाइएको थियो । उनलाई अहिले गुञ्जमान सिंह हस्पिटलको आइसोलेसन कक्षमा राखिएको छ ।

आज (बुधबार) अस्पतालमा ३९ जनाको र्‍यापिड टेस्ट गरिएकोमा एक जनामा मात्र पोजिटिभ देखिएको हो । यस्तै आजै अन्य तीन जनाको पनि स्वाब संकलन गरि भरतपुर प्रयोगशाला पठाइएको छ । यस्तै हिजो (मंगलबार) सोही अस्पतालमा १८ जनाको र्‍यापिड टेष्ट र ४ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । ती सबैको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालका प्रशासक खड्काले जानकारी दिए ।