काभ्रेका दुई जनामा कोरोना पोजिटिभ देखिएपछि छिमेकी जिल्लाबाट काभ्रे प्रवेशमा रोक

काभ्रे । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यलय काभ्रेले जिल्ला प्रवेश गर्ने पैदलयात्रीलाई रोक लगाएको छ । लकडाउनका कारण उपत्यकामा रोकिएका विभिन्न जिल्लाका सयभन्दा बढी संख्यामा पैदलयात्री काभ्रे हुँदै गृहजिल्ला जान थालेपछि प्रशासनले सूचना जारी गरेको हो। लकडाउनलाई प्रभावकारी बनाउन जिल्लाभित्र अनावश्यक रुपमा हिँड्डुल गर्नेलाई सोही स्थानबाट नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल नै जिल्ला प्रवेश गर्नेलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए।

 

अत्यावश्‍यक सेवाबाहेकका सवारी पास नलिएका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको पनि प्रशासनले जनाएको छ। कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका कारण यातायातका साधन नचलेपछि काठमाडौंबाट मानिसहरु बीपी राजमार्ग हुँदै पैदल नै तराईका जिल्ला गइरहेका छन्।

लकडाउन लम्बिएपछि काठमाडौंबाट बेखर्ची भएर उनीहरु घर हिँडेका हुन्।