कोरोनाको दलदलमा नेपाल: दैनिक देखापर्न थाले संक्रमित, आजै काठमाडौं, काभ्रे र धादिङमा कोरोना पोजेटिभ भेटिए

चितवन  । नेपालमा पनि कोरोना भाइरसको संक्रमित संख्या बढ्न थालेको छ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका २ जना एकै परिवारका व्यक्ति हुन् । बेलायतबाट आएका उनीहरु लुकेर बस्दै आएको सूचनाका आधारमा आइतबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो । आरडीटी गर्ने क्रममा तीनै जनामा कोरोना संक्रमणेको संकेत जनाउने एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । पाटन अस्पतालमा भर्ना गरिएपछि उनीहरुको पीसीआर विधिवाट परीक्षण गर्न नमूना लिइएको थियो । जसमध्येका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अर्का एक जनाको नेगेटिभ रिपोर्ट आएको छ । पोजेटिभ देखिनेमा ८१ वर्षीया महिला र ५८ वर्षीया पुरुष छन् । स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण देखिएकाहरुसँग सम्पर्कमा रहेका व्यक्तिहरुको ट्रेसिङ शुरु गरिएको पनि जानकारी दिएको छ ।

…………………………..

काभ्रेमा दुई युवामा कोरोना संक्रमण देखिएको छ। काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक/ एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको हो। थप परीक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ। बेथान्थोक गाउँपालिका वडा नम्वर ५ का २८ वर्षीय युवालाई आरडिटी परिक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनी चैत ९ गते भारतबाट नेपाल फर्किएका थिए। उनलाई आज नै धुलिखेल अस्पतालमा थप परिक्षणका लागि ल्याईएको छ। पहिलो परिक्षणमा उनलाई संक्रमण देखिए पनि दोश्रो परिक्षणमा नदेखिन सक्ने अस्पतालले जानकारी दिएको छ। द्रुत परिक्षणमा भएको किटले उनमा संक्रमण देखाएको हो। बेथान्चोक गाउँपालिमा २२ जना चैत्र १ गते पछि फर्किएका ब्यक्तिहरु छन्। त्यस्तै मण्डन देउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका २३ वर्षीय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो। उनी चैत ७ गते दुबईबाट फर्किएका थिए। उनलाई २२ दिन क्वारेन्टाईनमा राखेर घर पठाइको थियो। उनलाई पनि थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ। उन स्वाबको परीक्षणपछि दोश्रो रिपोर्ट आउनेछ।

……………………….

धादिङमा एकजना युवामा कोरोना भाइरस देखिएको छ। ज्वालामुखी गाउँपालिकामा भएको आरडिटी परीक्षणमा एक जना युवामा कोरोना पोजिटिभ देखिएको हो। दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका २७ वर्षीय ती युवालाई आरडिटी परीक्षण ‘पोजेटिभ’ देखिएको हो। विदेशबाट आएदेखि उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो। ती युवालाई आजै काठमाडौं पठाउने तयारी भइरहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुजन श्रेष्ठले जानकारी दिए।