कोरोना भाइरस: नेपालमा संक्रमित संख्या १६ पुग्यो

काठमाडौं, २ वैशाख । देशमा कोरोना भाइरसका संक्रमित १६ पुगेको छ । आज थप दुईजनाको संक्रमण पुष्टि भएको हो । उनीहरु पेप्सीकोलास्थित सनसिटीमा बस्दै आएका एकै परिवारका सदस्य हुन् ।

यसअघि १४ जनाको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये एकजना नीको भइसकेका छन् भने १३ जना उपचाररत छन् ।

आज स्वास्थ्य मन्त्रालयले जानकारी गराए अनुसार संक्रमित दुवैजना पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अर्पाटमेन्टमा बसोबास गर्नेहरु हुन् । उनीहरु बेलायतबाट फर्किएका परिवारका सदस्य हुन् ।

मन्त्रालयका अनुसार संक्रमित ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला छन् । उनीहरुको पीसीआरबाट थप परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यसअघि तीन जनामा पोजेटिभ देखिएकोमा पीसीआरबाट थप परीक्षण गर्दा दुई जनामा संक्रमण निश्चित भएको थियो । १ वैशाखमा परीक्षणबाट उनीहरु संक्रमित भएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

२०७७ सालमा लगातार दुई दिन संक्रमित पुष्टि भएका छन् । यसअघि हिजो दुईजनाको संक्रमण पुष्टि भएको थियो । आज दुईजना थपिएका हुन् ।