एक्सपर्ट एजुकेशनद्वारा विद्यार्थीका लागि दुई लाख अष्ट्रेलियन डलरको ‘कोभिड–१९ एक्सपर्ट सहयोग कोष’ स्थापना

अष्ट्रेलिया, चैत ३० । एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसको परोपकारी संस्था ‘एक्सपर्ट फाउण्डेशन’ले कोरोनाको महामारीबाट प्रभावित भएका अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि दुई लाख अष्ट्रेलियन डलरको ‘कोभिड–१९ एक्सपर्ट सहयोग कोष’ स्थापना गरेको छ ।

आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस र एक्सपर्ट फाउण्डेशनले अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहयोग गर्नका लागि सो कोष स्थापना गरिएको जनाएको हो । सो कोषबाट १ लाख ५० हजार डलर सिधै विद्यार्थीलाई र बाँकी ५० हजार डलर विद्यार्थीका लागि सक्रिय सामाजिक संघसंस्थामार्फत सहयोग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को माहामारीबाट अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका अभिभावकहरु पनि अहिले प्रभावित भएको र अष्ट्रेलियामा रहेका विद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलाई मध्यनजर गर्दै कोष स्थापना गर्ने निर्णय गरिएको एक्सपर्टले जनाएको छ ।

यस कोष स्थापनाले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्नेमा एक्सपर्टको विश्वास छ । विज्ञप्तीमा भनिएको छ–‘कोभिड १९ का कारण गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्यूनीकरण गर्न हामीले सुरुदेखिनै आफ्नो सक्रियता कायम राखेका छौं, सोही अनुरुप यो कोष स्थापना गरेका हौं ।’

कस्ता विद्यार्थीहरुले पाउछन् सहयोग ?

पछिल्लो ६ महिनामा अष्ट्रेलिया गएका अन्तराष्ट्रिय विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित रहेका छन् । सोही अनुरुप सन् २०१९ अक्टोबर १ यता अष्ट्रेलियाका पुगेका विद्यार्थीका लागि सहयोग केन्द्रीत गरिएको छ । सन् २०१९ अक्टोबर १ पछि अष्ट्रेलिया पुगेका विद्यार्थीहरु पहिलो प्राथमिकतामा छन् ।

यस्तै रोजगारी भएर पनि माहामारीका कारण रोजगारी गुमाएका र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस मार्फत अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीहरुले सहयोग पाउने विज्ञप्तीमा उल्लेख छ । एक्सपर्टले अष्ट्रेलियाका विभिन्न राज्यमा भएका कार्यालय र विभिन्न सम्पर्क मार्फत विद्यार्थीहरुलाई सहयोग गरिने जनाएको छ । साथै सहयोग चाहने विद्यार्थीले एक्सफर्ट फाउण्डेशनको यो लिंकमा रजिष्ट्रेशन गर्न यहाँ क्लिक गर्नुहोस् गइ रजिष्ट्रेशन गर्न र थप जानकारी लिन सक्ने छन् । यस्तै कोभिड–१९ बाट प्रभावित विद्यार्थीहरुलाई कुनै सल्लाह चाहिएमा यस [email protected] इमेल ठेगानामा मेल गर्न आग्रह गरिएको छ ।

एक्सपर्टले विद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुको बारेमा आफ्नो व्यावसायिक सम्बन्ध भएका शैक्षिक संस्थाहरुसंग आफ्नो तर्फबाट नियमित परामर्शमा रही विद्यार्थीहरुको तर्फबाट पैरवी गरिरहेको र विद्यार्थीहरुलाई सहयोग र सुविधा प्राप्त हुने बारेका सूचना उपलब्ध हुनासाथ विद्यार्थीहरुलाई जानकारी गराउने जनाएको छ ।

अष्ट्रेलियामा विद्यार्थीले घरभाडा, खाना र पढाईको शुल्क तिर्न समस्या भोगिरहेका छन् । हाल अष्ट्रेलियामा ५ लाख ४० हजार अन्तराष्ट्रिय विद्यार्थी पढिरहेका छन् । जसमा ५५ हजार नेपाली छन् ।