कोरोनाको ‘रातो झण्डा’ संसारभर: के अब चीन बन्छ संसारको ‘सुपरपावर?’

काठमाडौं । विश्व मानचित्रमा हेर्दा अफ्रिका र ल्याटिन अमेरिकाका केही देशबाहेक कोरोना भाइरसले ‘रातो झण्डा’ देखाएको छ । यो रातो झण्डाका विषयमा विश्व राजनीतिक वृत्तमा महाशक्ति राष्ट्र अमेरिका र चीनबीचको सम्बन्धलाई पनि जोडेर हेर्न थालिएको छ । पश्चिमा सञ्चार माध्यमले कोरोनाको खतरालाई प्रतिविम्बको रुपमा रातो रंग प्रयोग गरेका छन् । कोरोनाको रातो रंगलाई उनीहरुले चिनियाँ रातो झण्डा र कम्युनिष्ट व्यवस्थासँग पनि जोड्ने गर्छन् ।

कोरोना भाइरसले संसारको राजनीतिक, भौगोलिक र आर्थिक समीकरणलाई परिवर्तनतर्फ लगिरहेको छ । कोरोना भाइरसको संक्रमण रोकिएपछि विश्वको समीकरण नयाँ रुपमा देखिन सक्ने अनुमान गरिएको छ । कोरोना भाइरसको बादल हटेपछि नयाँ खालको राजनीतिक, भौगोलिक र आर्थिक शक्ति देख्न सकिने पश्चिमा मिडियाहरुले नै अनुमान गर्न थालेका छन् ।

भौगोलिक रुपमा अहिले संसारको सुपरपावरको रुपमा पश्चिमको अमेरिका रहेको छ । अहिलेकै अवस्थाले भने अब संसारको पावरसेन्टर पश्चिमबाट पूर्व अर्थात चीनतर्फ उन्मुख भएको छ । अहिलेको अवस्थामा संसारका हरेक मानिसले चीनले केही गर्छ कि ? भनेर आफैभित्र भए पनि प्रश्न गरिरहेका छन् । अमेरिका लगायतका संसारका शक्ति राष्ट्रले पनि चीनकै सहयोग लिइरहेका छन् ।

ग्लोबमा हेर्दा कोरोना भाइरसले अफ्रिकन केही देश र ल्याटिन अमेरिकी सीमित देशबाहेकको क्षेत्रमा कोरोनाको महामारीले समस्या निम्ताएको छ । संक्रमणको रातो खतरामा अधिकांश देश छन् । सबैको ध्यान रातो झण्डा भएको चीनतर्फ नै छ । यो महामारीको रोकथाम तथा नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेको चीनमै संसारको ध्यान केन्द्रित हुनु स्वभाविक हो । यो विश्वव्यापी महामारीको नियन्त्रण र रोकथामका लागि चीनले मात्रै बचाउन सक्छ भन्ने कुरा स्थापित भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण अहिले अमेरिका पनि चीनसामु झुक्न परेको छ । कोभिड–१९ लाई चिनियाँ भाइरस भनेर आफ्नो देशमा सुरुवाती संक्रमणमा प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रताको कुरालाई उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षीलाई फोन गरेर मिलेर लड्नुपर्नेमा जोड दिए । अमेरिका, क्यानडा, युरोप, बेलायतदेखि इरानसम्मले महामारीबाट बच्नका लागि चीनको एक्सपेरियन्स र चिनियाँ मेडिकल इक्वीप्मेन्टको आवश्यकता भएको खुलेरै बताएका छन् । चीनले केही सहुलियतमा त केही व्यवसायको रुपमा सहयोग गरिरहेको छ । यद्यपि गुणस्तरका विषयमा अहिले पनि प्रश्न उठिरहेको छ ।

अमेरिकाको नजिकको मित्र भएकाले इटलीले सुरुवाती समयमा कोभिड १९ लाई ट्रम्पकै शैलीमा ‘चिनियाँ भाइरस’ नै भनेको थियो । त्यो समयमा चीनले यो एक महामारीसँग जुध्न अनेक उपाय अवलम्वन गरिरहेको थियो । वुहानमा चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई–दुई पटक पुगेका थिए । विवाद बढ्न थालेसँगै संयुक्त राष्ट्रसंघले यसलाई कोभिड १९ भनेर नामाकरण गर्यो । सुरुवातमा चीनलाई गिज्याएको इटलीले अहिले चीनसँग पटक–पटक आग्रह र अनुनय नै गरिरहेको छ ।

संक्रमणका हिसाबले अमेरिकापछिको महामारीको चपेटामा परेको स्पेन पनि चीनकै शरणमा छ । स्पेनले अहिलेसम्म चीनबाट ४ सय ३२ मिलियन युरोको सामग्री खरिद गरिसकेको छ । अमेरिकाले त झनै अन्य देशमा लैजान तयार पारेका चिनियाँ सामग्रीलाई धेरै मूल्य दिएर खरिद गरिरहेको छ । महामारीकै कारण अमेरिका पनि अब चीनसँग झुक्न थालेको छ । अहिलेको अमेरिकाको व्यवहारले यस्तै देखाउँछ । अमेरिकी सञ्चार माध्यमले पनि ट्रम्पको नीतिको खुलेरै बिरोध गर्दै चीनसामू झुकेको भनेर टिप्पणी गरेका छन् ।

चीनले क्यानडा र इरानका लागि पनि अहिले मेडिकल इक्विपमेन्ट बेचिरहेको छ । चीनमा रहेका विभिन्न कम्पनीहरुले धमाधम काम गरिरहेका छन् । सिम्टोम्याटिक र एसिम्टोम्याटिक कोरोनालाई नियन्त्रण लिन लगभग सफल देखिएको चीनले सबै क्षेत्रका उत्पादन मुलक काम थालिसकेको छ ।

चीनले अहिले गरिरहेको सहयोगकै कुरालाई समाजसेवा वा मानवीय सेवाको हिसाबले मात्र लिनु हुँदैन । कुनै पनि देशको सहयोग आफूप्रति आकर्षित गर्ने वा समर्थनमा आउनका लागि पनि हो । कुनै पनि कुरा स्वार्थहीन हुँदैनन् भन्ने कुरा यहाँ स्मरण गर्नुपर्छ ।

अहिले चीनले आफ्नो सामान बेचेर आफ्नो अर्थ व्यवस्था बलियो बनाउने काम गरिरहेको छ । अर्कोतर्फ विश्वका धेरै देशहरु आफ्नो अर्थतन्त्र कसरी जोगाउने भन्नेमा चिन्तित छन् । अहिले झण्डै ६० भन्दा धेरै देश चीनको सहायतामा कोरोनाविरुद्धको लडाइमा छन् । चीनले पनि सबैलाई सहयोग र आवश्यक सामग्रीको आपूर्ति गरिरहेको छ । महामारी अन्त्य हुने समयसम्म चीनको अर्थ व्यवस्था राम्रो हुने अनुमान छ । त्यो बेलासम्म संसारका सबै देशको अवस्था निकै कमजोर बनिसकेको हुनेछ । यसले नै चीनलाई ‘सुपरपावर’ बन्ने बाटो खोल्नेछ ।

चीन संसारकै ‘म्यानुफ्याक्चरिङ हब’ हो । संसारकै धेरै ‘म्यानुफ्याक्चरिङ’को काम चीनमै हुन्छ । यसमा संसारकै कुनै पनि देश छैन, जसले ‘म्यानुफ्याक्चरिङ’मा चीनसँग प्रतिस्पर्धा गर्नसक्छ । ‘सुपरपावर’ बन्न खोज्नु जुनसुकै देशका लागि स्वभाविक हो । त्यसका लागि आवश्यक अन्य क्षेत्रको बलियोपन बिस्तारै बढाउँदै लैजानु पर्छ । चीनका लागि स्वास्थ्यको माध्यमबाट संसारमा आफ्नो दबदबा कायम गर्ने ठूलो अवसर पनि आएको छ ।

अहिलेसम्मको ‘सुपरपावर’ अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा नयाँ ‘नेशनल सेक्युरिटी स्ट्राटेजी’को घोषणा गरेका थिए । यसको उद्देश्य संसारमा आयात निर्यातको प्रतिस्पर्धा गर्नु थियो । प्रतिस्पर्धामा अग्रमोर्चामा नउभिएको अवस्थामा चीनले उछिन्ने उनलाई भय थियो । उनले यो स्ट्राटेजी चीनलाई पछाडी नै राख्नका लागि थियो । त्यसपछि चीन र अमेरिकाबीच व्यापार युद्धको रुपमा लामो समयसम्म विवाद बढेको थियो । अब अहिले कोरोना भाइरसले प्रतिस्पर्धालाई नयाँ ठाउँमा पुर्याइदिएको छ ।

कोरोना भाइरसका कारण ‘सुपरपावर’को प्रतिस्पर्धामा अग्रस्थानमा रहेको अमेरिकाले आफूलाई चीनसामु एक प्रकारले आत्मसमर्पण नै गरेको छ । प्रतिस्पर्धामा पनि निकैपछि परिसकेको छ । अहिले पनि झण्डै ४ लाख कोरोना संक्रमितको व्यवस्थापनमा जुटेको अमेरिका र एक हजारभन्दा कम संक्रमित भएको चीनलाई कोरोना भाइरसले नयाँ ठाउँमा अर्थात ‘सुपरपावर’मा पुर्याउने अवस्था बलियो बनाइदिएको छ ।

आउँदा दुई हप्ता अमेरिकाका लागि महामारीको उच्च जोखिम हुने देखिएको छ । अमेरिकाले संसारमै धेरै नागरिक मात्र गुमाउने छैन, सर्वश्रेष्ठ अर्थ व्यवस्थामा नराम्रो धक्का पाउने निश्चित छ । यसले वर्षौसम्म आर्थिक अवस्था सुधारमा अमेरिकाले खर्च गर्नुपर्ने हुन्छ ।

‘सुपरपावर’का लागि पहिलो आवश्यक पक्ष भनेको बलियो अर्थतन्त्र हो । संसारकै आर्थिक राजधानी मानिएको अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसको संक्रमणले शव राख्ने ठाउँकोसमेत अभाव भइरहेको छ । आर्थिक राजधानी नै कोरोनाको इपिसेन्टर भएपछि त्यसको प्रत्यक्ष असर अमेरिकी पुरै अर्थ व्यवस्थामा पर्छ ।

आर्थिक परिसूचकमध्येको एक नेप्सेको अवस्था निक्कै कमजोर देखिएको छ । चिनियाँ व्यवसायीले धमाधम युरोपियन र अमेरिकन कम्पनीका सेयर किनिरहेका छन् । पश्चिमा स्टोकमार्केट अहिलेसम्मकै कमजोर अवस्थामा झरिरहेको छ । अमेरिकामा सन् २००८ मा भन्दा पनि ठूलोे आर्थिक मन्दी हुने अनुमान गरिएको छ ।

अमेरिकाले आउँदो ६ महिनासम्म कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा नआउने अनुमान गरेको छ । यस्तो अवस्थामा अमेरिकाले कोरोनाबाट मुुक्ति पाउनका लागि संघर्ष गरिरहेको हुनेछ । अबको एक महिनापछि चीन कोरोनामुक्त भएर संसारभर आफ्नो आर्थिक, राजनीतिक र कुटनीतिक सम्बन्ध बिस्तारमा सफल हुनेछ ।

अहिलेसम्म अमेरिकाले संसारका हरेक अप्ठ्यारा अवस्थामा आफूलाई लिडरोलमा स्थापित गर्दै आएको थियो । विश्वका जुनसुकै देशमा हुने स–साना क्रियाकलापमा पनि अमेरिकाले प्रतिक्रिया दिँदै आएको थियो । अहिले आफै कोरोना भाइरसका कारण चीनको शरणमा अमेरिका छ । त्यसैले विश्वव्यापी महामारीको लिड चीनले गरे पनि उसले साइलेन्स लिडिङ रोल देखाएको छ । सतहमा भने ‘भ्याकुम’ छ । अमेरिकासँग अर्थतन्त्र, शक्ति र राजनीति जोडिएको थियो भने कोरोनाका कारण चीनसँग भावना पनि थपिएको छ ।

संसारका धेरै देशमा आफ्नो प्रभाव जमाउने र संसारका ठूला ठूला घटनामा आफ्नो अनुकूल बाँकी विश्वलाई पछि लगाउन सक्षम हुने नै ‘सुपरपावर’को शक्ति हो । अहिलेको अवस्थामा चीन संकट समाधानमा अग्रभागमा नेतृत्व गरिरहेको छ । तर यसको ‘रिजल्ट’ कोरोना भाइरसको अन्त्य भएलगत्तै आउने छ । अमेरिकाले सुपरपावरको आफ्नो उपाधि गुमाउँछ वा अमेरिकाले नै फेरि लिडिङ भूमिका कायम राख्छ भन्ने कुराको टुंगो यो महामारीको अन्त्यपछि प्रष्ट हुनेछ ।

अहिले पनि अमेरिका र चीनबीचको द्वन्द्व चलि नै रहेको छ । पछिल्लो संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा भएको विवाद, विभिन्न देशमा पठाइएका स्वास्थ्य सामग्रीको गुणस्तर लगायतका विषयमा अमेरिकाले चीनलाई अगाडि जान रोक्ने तमाम प्रयास गरेको बुझ्न सकिन्छ । पश्चिमा सञ्चार माध्यमले बेलाबेलामा चीनप्रति गरेको नराम्रो टिप्पणी ‘सुपरपावर’को लडाईकै लागि हो । पश्चिमा मिडियाले कोरोनाबाट कसरी बच्ने भन्ने कुरा चीनले राम्रोसँग अन्य देशलाई जानकारी नदिएको भन्दै बेइजिङको आलोचना गरिरहेका छन् ।

कोरोना महामारीबाट ‘सुपरपावर’को शक्तिमा स्थापित हुनका लागि चीनलाई पनि सजिलो छैन । चीनकोविरुद्ध अबका केही महिना पश्चिमा देश र मिडियाले एकतावद्ध योजना बनाउने छन् । अहिले आइरहेका विभिन्न प्रकारका विवादको शिलशिला पनि त्यहीँ हो । नेपाली मिडियामा पनि बेलाबेलामा यसको संकेत देखिएकै छ । चीन ‘सुरपरपावर’ बन्छ वा बन्दैन भन्ने कुरा उसकै रणनीतिमा भरपर्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा