कोरिया, जापान र बेलायतले आफ्ना नागरिक लैजान चार्टर उडान गर्दै

काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका विदेशीलाई स्वदेश लैजान आज तीनवटा चार्टर उडान हुँदैछन् । आफ्ना नागरिकलाई स्वदेश फर्काउन कोरिया, जापान र बेलायतका दूतावासले तीनवटा चार्टर उडान गर्ने भएका हुन. ।  काठमाडौंमा रहेका यी तीन मुलुकका दूतावासको अनुरोधमा तीनवटा अन्तर्राष्ट्रिय चार्टर उडान हुन लागेको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षत्रीले जानकारी दिए ।

बेलायतले आफ्ना नागरिकका लागि टाइटन एयरको जहाज काठमाडौं ल्याउँदैछ । २ सय ६५ यात्रु क्षमताको उक्त विमान १ बजे काठमाडौं आएर दुबई हुँदै लन्डन फर्किने छ ।

यसैबीच, निगमको जहाज शुक्रबार बेलुका काठमाडौंमा अलपत्र परेका १ सय ९० जापानी नागरिक लिएर नारिता उड्दै छ । यस उडानमा संलग्न एक अधिकारीका अनुसार, ३० हाराहारी नेपाली छन् । यस्तै लकडाउनयता कोरियन एयरले पहिलोपटक चार्टर उडान गर्दै छ ।

काठमाडौंमा रहेको कोरियाली दूतावाससँगको सहकार्यमा हुन लागेको उडानमा १ सय ८० कोरियाली नागरिक स्वदेश फर्किँदै छन् ।