विश्वका २ सय ८ मुलुकमा कोरोना महामारी, यी नौ देश छन कोरोना मुक्त

एजेन्सी । कोरोना भाईरसले विश्वका दुईसय आठ मुलुकमा महामारी फैलाईरहंदा अझै पनि केही मुलुक यसबाट मुक्त छन । अमेरिकाको जन हप्कीन्स युनिभर्सिटीले कोरोना भाईरस सम्बन्धि तयार पारेको डाटा अनुसार विश्वका नौ देश अहिलेसम्म कोरोना मुक्त छन ।

तुर्कमेनिस्तान, ताजिकिस्तान, उत्तर कोरिया, दक्षिणी सुडान, यमनलगायतका मुलुकहरु कोरोना भाईरसको प्रकोपबाट मुक्त रहेका मुलुकहरुमा पर्छन । मध्य एसियाली मुलुक तुर्कमेनिस्तानमा कोरोना शब्दको प्रयोगमा समेत कडा प्रतिबन्ध लगाईएको छ ।

त्यहाँ यो शब्द उच्चार गर्न पाईंदैन । मास्क लगाएर घुम्ने र महामारीका विषयमा कुरा गर्नेलाई तुर्कमेनिस्तानको प्रहरीले पक्राउ गरी जेल चलान गरीरहेको छ । कोरोना रोकथामका लागि सामाजिक सञ्जाल र सार्वजनिक स्थलका भित्ताहरुमा टाँसिएको प्रचार सामाग्रीहरु हटाईएका छन ।

त्यस्तै मध्य एसियाकै अर्को देश ताजिकिस्तान पनि अहिलेसम्म कोरोनाबाट चोखो बनेको छ । यो मुलुक ट्रेकिङ र क्लाईम्बिङका लागि विश्वमै प्रख्यात छ । यहाँ विश्वभरका हजारौं मानिसहरु ट्रेकिङ र क्लाईम्बिङका लागि आउने गर्छन । तर अन्य मुलुकमा कोरोना भाईरसको महामारी सुरु भएका कारण मार्च महिनादेखि नै अन्य मुलुकबाट आउन जान प्रतिबन्ध लगाईएको छ ।

त्यसैगरि चीनसंग सिमाना जोडिएको उत्तर कोरिया पनि कोरोना भाईरस नपुेको मुलुकको सूचीमा परेको छ । विश्वमै रहस्यमयी मुलुकका रुपमा चिनिएको उत्तर कोरियाले चीनमा कोरोना फैलिनासाथ आफ्ना सबै सिमानाकाहरु बन्द गरेको थियो । त्यस्तै उत्तर अफ्रिकी मुलुक दक्षिणी सुडानमा पनि हालसम्म कोरोनाको कहर पुगिसकेको छैन ।

एक करोड ११ लाख जनसंख्या रहेको यो मुलुकले पनि आफ्ना सबै सिमानाकाहरु बन्द गरेको छ । यहाँको जनजिवन सामान्य छ । त्यस्तै मध्यपूर्वी देश यमन पनि अहिलेसम्म कोरोना भाईरसबाट मुक्त छ । तीन करोड जनसंख्या रहेको यमन बर्षौंदेखि गृहयुद्धको चपेटामा रहेको छ ।

यहाँ भोकमरी र गरिबीका कारण धेरैको ज्यान गैसकेको छ । त्यसैगरि दक्षिण अफ्रिकी मुलुक बुरुंडी, पूर्वी अफ्रिकी देश मलावी, अर्को अफ्रिकी मुलुक लिसोथो र कोमोरोसमा पनि अहिलेसम्म कोरोना भाईरसको संक्रमण पुगेको छैन ।