अस्ट्रेलियाका प्रधानमन्त्रीले विदेशी विद्यार्थी र पर्यटकलाई भने– ‘घर जाउ’

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भिजिट भिसा र विद्यार्थी भिसामा अस्ट्रेलियामा रहेका विदेशीहरुलाई आ–आफ्नो देश फर्किने बेला भएको बताएका छन् । आज मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री मोरिनले विभिन्न भिसा लिएर अस्ट्रेलियामा रहेका र आफ्नो सुरक्षा गर्न नसक्ने विदेशीहरुको लागि आफ्नो देश फर्कने विकल्प रहेको बताएका हुन् ।

‘अस्ट्रेलियाले आफ्ना नागरिक र यहाँका स्थायी बासिन्दामा बढी ध्यान केन्द्रित गर्नुपर्ने भएको छ ताकि उनीहरुलाई दिइने आर्थिक सहायता बढाउन सकियोस्’ उनले भने । प्रधानमन्त्री मोरिसनले ‘क्रिटिकल स्किल’ भएकाहरुका लागि भने यो लागू नहुने बताएका छन् । ‘अस्ट्रेलियामा रहेका ती विदेशीहरु जो डाक्टर वा नर्स हुन्, अथवा जोसँग विशेष क्षमता छ जसले हामीलाई यो महामारीको बेला सहयोग गर्न सक्छ, उनीहरुको हकमा भने यहाँ अवसर हुनेछ’ प्रधानमन्त्री मोरिसनले थपे ।

एबीसी डटनेटका अनुसार प्रधानमन्त्रीले आफ्नो प्राथमिकता अस्ट्रेलियाली नागरिक र स्थायी वासिन्दामा केन्द्रित हुने प्रस्ट पारेका छन् । मोरिसनले अझै पनि भिजिट भिसामा आएका मानिसहरु ठूलो संख्यामा अस्ट्रेलियामै रहेको बताए । अहिले अस्ट्रेलियामा रहेका विदेशी विद्यार्थीहरुले संघीय सरकारको ‘जबसिकर पेमेन्ट’ सुविधा पाइरहेका छैनन् । यही बीचमा उनीहरुले अस्ट्रेलियाका नागरिक र स्थायी वासिन्दाले पाउने आर्थिक सुरक्षाको सुविधा पनि नपाएरै कोरोनाभाइरसको महामारीसँग जुधिरहनु परेको छ ।

अस्ट्रेलियामा ५ लाख भन्दा धेरै विदेशी विद्यार्थीहरु अध्ययनरत छन् । सिड्नी मर्निङ हेराल्डका अनुसार गएको अक्टोबरमा मात्र यहाँ ५२ हजार नेपालीहरुले विद्यार्थी भिसामा अध्ययन गरिरहेका थिए । विद्यार्थीबाहेक अन्य समेत गर्दा यहाँ लाखौंको संख्यामा नेपालीहरु छन् । यद्यपि प्रधानमन्त्रीको अहिलेको निर्णय सबै नेपालीको हकमा भने लागू हुँदैन । अस्ट्रेलियामा स्थायी बसोवास अनुमति पाइसकेका नेपाली यसबाट प्रभावित हुँदैनन् । तर, विद्यार्थी भिसा र भिजिट भिसामा रहेका नेपालीहरु भने यसबाट प्रभावित हुनेछन् ।