कोरोना संक्रमण: संक्रमित भनेपछि एम्बुलेन्स चालक भागे, डाक्टरले आफ्नै गाडीमा राखेर लगे अस्पताल

काठमाडौं, चैत २१ । गत ४ चैतमा बेल्जियबाट आएकी बाग्लुङकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएपछि बिहीबार बेलुका अस्पताल भर्ना गरिएको छ । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमै थिइन् । संक्रमण भएको रिपोर्ट आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

तर, अस्पताल लैजान त्यति सहज भने भएन । उनलाई लिन द्यौलागिरि अञ्चल अस्पतालको एम्बुलेन्स गएको थियो । तर, एम्बुलेन्स  चालक एक्कासि भागेका थिए । मेयरदेखि सिडिओसमेत पन्छिएपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरज गुरौ अग्रसर भए । पिपिई लगाएर उनले वृद्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुऱ्याएका हुन् ।

ती वृद्धा छोरी भेट्न बेल्जियम गएकी थिइन् । कतार एयरको क्युआर– ६५२ विमानबाट उनी ४ चैतमै फर्किएकी थिइन् । सोही दिन उनी यति एयरलाइन्समार्फत पोखरा गएकोमा त्यहाँबाट स्कार्पियोमा बाग्लुङ गएकी हुन् । बाग्लुङकै अर्की कोरोना संक्रमित युवती र उनी सँगै फर्किएका थिए ।

बाग्लुङकी पहिलो संक्रमितको परिवारमा संक्रमण देखिएको छैन । बिहीबार संक्रमण पुष्टि भएकी वृद्धाको परिवारको पनि परीक्षण गर्न लागिएको छ ।